काठमाडौं– इन्डोनेसियामा भदौ २ गतेदेखि १७ गतेसम्म हुने एसियाली खेलकुद (एसियाड) को १८ औं संस्करणमा नेपालको तर्फबाट २ सय ८५ सदस्यीय अफिसियल टिम सहभागी हुने भएको छ।
एसियाडमा नेपालको तर्फबाट विभिन्न २९ खेलका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन्। जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन्।
नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।
इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्वाङ सहरमा हुने एसियाडमा एसियाका नेपालसहित ४५ देशको सहभागिता हुँदैछ। एनेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउदै छ । यी खेल मध्ये लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्ड पालेम्वाङमा हुनेछ भने बाँकी जकार्तामा हुनेछ।
एसियाडमा नेपालले सहभागिता जनाउन लागेको हालसम्मकै सर्वाधिक २९ खेल मध्ये १९ खेललाई हामीले बैदेशिक प्रशिक्षणमा पठाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। परिषद्ले तयारी लामो र राम्रो भएकाले पदक आउने दाबी गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टका अनुसार मार्सल आर्ट्सका खेलसहित प्याराग्लाइडिङ र स्पोर्ट्स क्लाइबिङबाट पदकको आसा गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
एसियाडमा सहभागिता जनाउन खेलाडी तथा प्रशिक्षक आफ्नो खेल तालिका अनुसार इन्डोनेसिया प्रस्थान गर्नेछन्।
एसियाडको तयारी र सहभागिताका लागि ७ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। जसमध्ये सरकारले ५ करोड उपलब्ध गराएको छ । अपुग रकम माग भएको परिषद्ले जनाएको छ।
दुई संस्करण बाहेक सबै एसियाडमा सहभागिता जनाएको नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ । नेपालले १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोश्रो संस्करण र १९६२ मा इन्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन। नेपालले हालसम्म तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ। १९८६ को सिओल एसियाड नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो।
कुन खेकको कहाँ प्रशिक्षण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।