बेनी– म्याग्दीको मंगला गाउँपालिकालाई ४० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ।
मंगला गाउँपालिका–२ बाबियाचौर घर भर्इ हाल काठमाडौं बस्दै आएका क्याप्टेन इन्द्रबहादुर अधिकारीले तीन रोपनी १५ आना तीन पैसा दुई दाम जग्गा गाउँपालिकालाई उपलब्ध गराएका हुन्।
मंगलबार ७३ वर्षीय जग्गादाता अधिकारीले गाउँपालिकाका अध्यक्ष रोकालाई जग्गाकोे लालपूर्जा हस्तान्तरण गरे। सो जग्गा बाबियाचौरमा बालबालिका तथा ज्येष्ठ नागरिक उद्यान निर्माणका लागि प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए।
‘उद्यान निर्माण गर्न जग्गाले ठूलो सहयोग पुग्नेछ।’, अध्यक्ष रोकाले भने। जग्गादाता अधिकारीलाई गाउँपालिकाले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ। अधिकारीले आफू काठमाडौंमा रहे पनि जन्मेको ठाउँको विकासमा सहयोग पुगोस् भनेर जग्गा उपलब्ध गराएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।