काठमाडौं– एसिसी एसिया कप छनोट प्रतियोगिताका लागि नेपालले १९ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १९ सदस्यीय टिम घोषणा गरेको हो।
नेदरल्यान्ड्स विरुद्धको एकदिवसीय सिरिजमा टिममा नरहेका सुनील धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतो टिममा परेका छन्। दाहिने हातको औंलामा चोट लागेका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर बाहिरिएका छन्।
नेपाली टिमको बन्द प्रशिक्षण साउन २९ बाट सुरु हुनेछ। क्याम्पबाट एसिया कप छनोट खेल्ने १५ सदस्यीय टिम घोषणा गरिनेछ।
मलेसियामा आगामी भदौ ११ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्। त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।
६ टिम मध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ। एसिया कपको समूह विभाजन यसअघि नै भइसकेको छ। मलेसिया हुने प्रतियोगिताबाट छनोट हुने टिम भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ। एसिया कपको समूह 'ए' मा भारत, पाकिस्तान र छनोट हुने एक टिम परेका छन्। समूह 'बी' श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
प्रारम्भिक टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनील धमला, सुसन भारी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।