भैरहवा– उपचारका क्रममा आफ्ना सहपाठीको मृत्यु भएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालका विद्यार्थी आन्दोलित भएका छन्।
कलेजको ब्याचलर अफ डेन्टल सर्जरी (बिडिएस) चौथो वर्षमा अध्ययनरत जनकपुरका २२ वर्षीय महादेव साहको उपचारका क्रममा कलेजकै शिक्षण अस्पतालमा मृत्यु भएपछि विद्यार्थीले अस्पतालको आइसियू, सिसियू, हेमोडाइलाइसिस लगायतमा तोडफोड गरेका छन्।
घटनाबारे जानकारी पाएका पत्रकारहरु समाचार संकलनका लागि अस्पतालमा पुगेलगत्तै विद्यार्थीले आन्दोलनको दृश्य÷तस्विर किन खिचेको भन्दै पत्रकारका क्यामरा खोसेर तोडफोड गर्नुका साथै आक्रमणसमेत गरेका थिए।
मलद्धारको छेउमा आएको पिलोको गलत उपचार हुँदा साहको मृत्यु भएको पीडित परिवारको आरोप छ। साहको आइसियूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पताल प्रशसानले जनाएको छ।
सहपाठीको मृत्युपछि आक्रोशित बनेका विद्यार्थीले अस्पतालको भौतिक संरचना तोडफोड गर्नुका साथै मृतक साहको शव आइसियूबाट शवगृहमा लैजानसमेत दिएका छैनन्।
लुकेर ज्यान जोगाएँ : बिरामी कुरुवा
विद्यार्थीले आइसियू, सिसियू लगायतका क्षेत्रमा तोडफोड गर्न थालेपछि अस्पतालमा उपचारत बिरामी तथा करुवा त्रसित बनेका थिए। करुवाहरुले भागेर ज्यान जोगाएको बताएका छन्।
अस्पतालमा श्रीमानको हेमोडाइलाइसिस गराउन आएकी गौडहवा गाउँपालिका सूर्यपूराकी हरिकला कँडेलले विद्यार्थीले एकाएक आइसियूमा छिरेर तोडफोड गर्न सुरु गरेपछि आफू लुकेर जोगिएको बताइन्।
‘विद्यार्थीको शैली देखेर निकै डर लागेको थियो, उनीहरु भित्र पसेपछि आफ्नो ज्यान कसरी जोगाउने भन्दै भागभाग मच्चियो,’ उनले भनिन्, ‘निकै बेर लुकेर बसेपछि प्रहरी आएर हामीलाई बाहिर निकाले। बाहिर आउँदा आइसियू युद्ध मैदानजस्तै थियो, चारैतिर फुटेका सिसैसिसा थिए।’ विद्यार्थीले तोडफोड गरिरहँदा अस्पतालमा आएको प्रहरीले नियन्त्रणका लागि बल प्रयोग भने गरेन।
आइसियूमा १७ जना बिराम उपचारत छन्। जसमध्ये ९ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए। उनले विद्यार्थीको तोडफोडका कारण कुरुवालाई समस्या परेको बताउँदै बिरामीलाई भने क्षति नपुगेको जनाए।
पत्रकारको क्यामेर फुटाउने र दुर्व्यवहार गर्नेलाई कारबाही गर : पत्रकार
समाचार संकलनका क्रममा पत्रकारको क्यामरा समेत तोडफोड गरिएको भन्दै पत्रकारहरुले आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन्। पत्रकारमाथि हातपातमा उत्रिने विद्यार्थीको पहिचान गरी कारबाही गर्न पत्रकारहरुले जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा निवेदन दिएका छन्। एपिवान टेलिभिजनका राधेश्याम विश्वकर्मा र नेपाल लाइभका दीपक घिमिरेले जिल्ला प्रशसान कार्यालयमा निवेदन दिँदै घटनाबाट भएको क्षतिपूर्ति र आक्रमणकारीलाई कारबाही गर्न माग गरेका छन्।
समाचार संकलनका लागि अस्पताप पुगेका पत्रकारमाथि विद्यार्थीले गरेको आक्रमण, दुर्व्यवहार र क्यामरा तोडफोडको घटनाको नेपाल पत्रकार महासंघ रुपन्देहीले भत्र्सना गरेको छ।
पत्रकार महासंघ रुपन्देहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाध रुपमा समाचार संकलन गर्न पाउने कानुनी अधिकारलाई कुल्चिएको उक्त घटनाले प्रेस स्वतन्त्रताको आस्थाप्रति गम्भीर चोट पुगेको छ। उक्त घटनाबाट भएको क्षतिको पूर्ति र आक्रमणकारीको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं।’
यसैबीच, भैरहवाका पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले पनि घटनाप्रति निन्दा गरेको छ।
कारबाही गर्छौ : सिडिओ
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अस्पताल तोडफोड गर्ने र पत्रकारमाथि दुव्र्यहार गर्ने विद्यार्थीको पहिचान गरी कारबाही गरिने आश्वासन दिएका छन्। उनले घटनाका दोषीलाई घटनास्थलबाटै पक्राउ गरेर ल्याउँदा अवस्था जटिल हुने भन्दै अनुसन्धान गरेर दोषीउपर कारबाही गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।