भैरहवा– सरकारवादी मुद्दामा महत्वपूर्ण भूमिका रहने साक्षीलाई सम्मानका साथ अदालतमा लगिएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७५/०७६ को पहिलो बकपत्रका लागि पाँच जना साक्षीलाई सम्मानका साथ अदालतमा लगेको हो।
बहुविवाह, मानव बेचविखन, जबरजस्ती करणी र लागुऔषधको मुद्दामा बकपत्रका लागि उनीहरुलाई सम्मानसहित अदालतमा उपस्थित गराइएको जिल्ला न्यायधिवक्ता कोशहरी निरौलाले बताए। योसँगै ‘हेलो साक्षी’ कार्यक्रमको समेत थालनी गरिएको छ।
सरकारी वकिल कार्यालय, रुपन्देहीद्धारा भैरहवामा आयोजना गरिएको कार्यक्रममा निरौलाले सरकारवादी मुद्दामा साक्षीको भूमिका निकै महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सम्मान गरेर अदालतमा उपस्थित गराइएको बताए।
उनले भने,‘मुद्दा फछ्र्यौटका लागि साक्षीहरुको भूमिका महत्वपूर्ण हुन्छ। साक्षीहरुले सर्वसाधरणहरुलाई यसबारे सकारात्मक जानकारी पुर्याउन भन्नका लागि नै सम्मान गरिएको हो।’
सरकारवादी मुद्दाका साक्षीहरुलाई बकपत्रपश्चात् नेपाल सरकारको राजपत्र अंनकित प्रथम श्रेणीका कर्मचारीले पाउने सरहको दैनिक भ्रमण भत्ता पाउने व्यवस्था रहेको छ। उक्त भत्ता प्रहरीले उपलब्ध गराउँदै आएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए। उनले साक्षीको बकपत्रका लागि समस्या रहेपनि यसमा सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए।
जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार सन्जिव पोख्रेलले प्रतिवादी पक्षले सरकार पक्षका साक्षीलाई प्रभावमा पार्दा साक्षी समयमा उपस्थित नहुने गरेको समस्या रहेको बताउँदै यसले कतिपय मुद्दा समयमा फछ्र्यौट हुन नसकेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।