राजविराज– सप्तरीको राजविराज नगरपालिका–१५ स्थित मुसर्नियामा २४ वर्षीया एक गर्भवती महिलाको हत्या भएको करिब डेढ महिनापछि उनका पति र डेढ वर्षीया छोरीको पनि हत्या भएको खुलेको छ।
गत जेठ ३१ गते राति स्थानीय बेचनीदेवी साहको मृत शव प्रहरीले उनकै घरको शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको थियो। सोही घटना अनुसन्धान गर्ने क्रममा उनका पति अन्दाजी ४८ वर्षीय सूर्यनारायण र छोरी प्रतिभाको पनि हत्या भएको प्रहरीले पुष्टि गरेको छ।
तीनै जनाको हत्या आरोपमा मृतक सूर्यनारायणका भाई ४५ वर्षीय मुर्जा भन्ने पञ्चदेव, पञ्चदेवकी पत्नी ३७ वर्षीया प्रमिलादेवी, सालो सत्यनारायण साह, स्थानीय २४ वर्षीय धर्मेन्द्र साह र ५० वर्षीय थापा भन्ने जिवछ साहलाई प्रहरीले पक्राउ गरेको छ।
घटनामा १० जनाको संलग्नता देखिए पनि अनुसन्धान प्रभावित हुने भन्दै फरार ५ जनाको नाम प्रहरीले गोप्य राखेको छ। घरजग्गाको अंश, नागरिकताको किचलो र अन्य घरायसी झमेलाका कारण भाइ पञ्चदेव यादवको योजना अनुसार सूर्यनारायणको परिवारकै हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सप्तरी प्रहरीका डिएसपी भावेश रिमालले जानकारी दिए।
पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत राजविराजबाट म्याद थप गरी थुनामा राखिएको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार ४ महिने गर्भवती बेचनीको शव कुहिएको अवस्थामा ट्वाइलेटको रिङमा फेला परेसँगै पति सूर्यनारायण र छोरी पनि सम्पर्क विहीन थिए। पतिले नै बेचनीको हत्या गरेर फरार भएको हुनसक्ने आशंका समेत गरिएको थियो। तर, अनुसन्धानका क्रममा पक्राउ परेका पञ्चदेव, धर्मेन्द र जिवछले दुवैको घाँटी थिचेर हत्या गरेको वयान दिएपछि प्रहरीले उनीहरुको शव खोजी गरिरहेको छ।
सूर्यनारायण र छोरी प्रतिभाको घाँटी थिचेर हत्या गरी कोशीको पश्चिमी नहरको च्यानलमा शव गाडेको आरोपीको वनानपछि प्रहरीले शवको खोजी सुरु गरे पनि फेला पार्न सकेको छैन। नहरमा पानीको मात्रा बढी भएकाले हालसम्म शव फेला नपरेको एसपी मुकेशकुमार सिंहले बताए।
‘बेचनीभन्दा पहिला सूर्यनारायण र उनकी छोरीको हत्या भएको देखिन्छ,’ एसपी सिंहले भने, ‘दुवैको हत्यापछि योजना अनुसार सुतिरहेकी बेचनीको पनि घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
वयान अनुसार पञ्चदेवको योजनामा गाउँ नजिकै बजार भरेर फर्कने क्रममा बीच बाटोमा पर्ने बाँसघारीमा बसी मृतक र आरोपीले सँगै बसेर रक्सी सेवन गरेको र सूर्यनारायणलाई मताएर हत्या गरेको एसपी सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।