काठमाडौं– सरकारले जबर्जस्ती अपहरणको शैलिमा आफूलार्इ काठमाडौं लिएर आएको भन्दै डा गोविन्द केसीले यहाँ उपलब्ध कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्विकार गरेका छन्।
२२औँ दिनमा अनसनरत डा केसीले आफ्नो सत्याग्रह तुहाउन सरकार लागि परेको आरोप लगाए। ‘जुम्लामा पनि आखिर म अनसनमा थिएँ, जे यहाँ गरिन्छ त्यो कर्णालीमा पनि भर्इ नै रहेको थियो। स्वास्थ्य उपचार गर्ने बहानामा आफूलाइ त्यहाँबाट उठाएर सम्पुर्ण अभियानलाई नै तुहाउन खोजिएको छ।’, शिक्षण अस्पतालको बेडबाट मलिनो आवाज र इसारा गर्दै डा केसीले भने।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदैदेखि डा केसीको मुटुको चालमा गम्भीर समस्या देखिएको थियो। तर, उनको अडानका बीच इसिजी गरेर मुटुको अवस्थाबारे थाहा पाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
डा केसीले रक्त परिक्षण गर्न नमानेका कारण रगतमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम लगायतका ‘इलेक्ट्रोलाइट्स’को वर्तमान अवस्थाको बारेमा पनि जानकारी पाउन नसकिएको डा केसीसँगै रहेका विशद दाहालले बताए। डा केसीले सामान्य रक्तचाप पनि परिक्षण गर्न पनि अस्विकार गरेको बताइएको छ।
‘काठमाडौं आएकै दिन मुटुको अवस्थाबारे जाँच गरी डा केसीलाई सिसियुमा लाने तयारी गरिएको थियो। तर, उहाँले जाँच गर्न नै अस्विकार गरेका कारण डा केसीको शरीर भित्र के–कस्ता परिवर्तन भइरहेको छ, यसै भन्न सकिने अवस्था छैन।’, दाहालले भने।
दाहालका अनुसार शुक्रबार शिक्षण अस्पतालमा भेट गर्न आएका कसैसँग पनि दोहोरो सम्वाद नगरेको जानकारी दिए। ‘डा केसीलाइ भेट गर्न आएका कसैसँग पनि उहाँले दोहोरो संवाद गर्न सक्नु भएन। डा केसीले अत्यन्त सम्मान गर्ने केदारभक्त माथेमासँग पनि उहाँ बोल्न सक्नु भएन। पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासँग पनि हातको इसाराले मात्र कुरा भयो।’, दाहालले भने,‘यसले उहाँको स्वास्थ्यमा थप जटिलता थपिएको प्रष्ट हुन्छ।’
सरकारले डा केसीलाइ सुविधासम्पन्न ठाउँमा ल्याएको भनेर ढुक्क बसिरहेको अवस्थामा, डा केसीको पछिल्लो अडानका कारण काठमाडौं आएर पनि स्वास्थ्यमा देखिएका गम्भीर समस्याहरुको समाधान हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।