गाईघाट– उदयपुरका सांसद तथा राजनीतिक दलका नेताहरु सदरमुकाम गाईघाटस्थित हवाई मैदानको जग्गामा भएको अतिक्रमण हटाउन सहमत भएका छन्।
जनप्रतिनिधि र राजनीतिक दलको संरक्षणमा हवाई मैदानसहित सार्वजनिक जग्गामा अतिक्रमण बढेको आरोप लाग्न थालेपछि यसतर्फ उनीहरुको सक्रियता बढेको हो। सांसदहरुकै अगुवाइमा दुई दिनअघि बसेको सर्वपक्षीय बैठकले हवाई मैदानसहित सार्वजनिक जग्गाको अतिक्रमण हटाउने निर्णय गरेको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईँटेलले बताए।
प्रदेश सांसदहरू विमल कार्की, हिमाल कार्की, अम्बिका थापा, सज्जा दनुवार, सुनिता चौधरीसहित जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई, नेकपाका नेता ईश्वरमणि राउत, सिडिओ विष्णु कार्की, एसपी नवराज भट्ट बैठकमा सहभागी थिए।
हवाई मैदानसहित सार्वजनिक स्थलको अतिक्रमण हटाउन स्थानीय प्रशासन तथा नगरपालिकाले पटक–पटक गरेको प्रयास असफल हुँदै आएको थियो। जनप्रतिनिधि र राजनीतिक दलका नेता/कार्यकर्ताले त्यसप्रति चासो राखेको लुईँटेलले बताए।
बैठकका आधारमा जिल्ला प्रशासन कार्यालय उदयपुरले बुधबार ३० दिने सार्वजनिक सूचना जारी गरी हवाई मैदानको अतिक्रमण हटाउन आग्रह गरेको छ। तोकिएको मितिभित्र जग्गा खाली नगरे प्रशासनले हटाउने र त्यसवापत लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने सिडिओ कार्कीले बताए। प्रशासनले यसअघि जेठ २ गते पनि नगरपालिकालाई पत्राचार गरी एक साताभित्र अतिक्रमण हटाउन भनेको थियो।
त्रियुगा नगरपालिका–१३ स्थित हवाई मैदानको नाममा रहेको १४ बिगाहा १६ कठ्ठा १६ धुर जग्गा वर्षौदेखि अतिक्रमणमा परेको छ। हवाई मैदान बनाउने उद्देश्यका अनुसार, २०३०/३१ सालमै उक्त क्षेत्रको जग्गाधनी प्रमाणपुर्जा हवाई मैदानको नाममा बनाइएको छ।
तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि उपयुक्त नभएको जनाएपछि जग्गा अतिक्रमण बढेको स्थानीय नरमान राईले बताए।
हवाई मैदानको जग्गामा ४३ वटा पक्कीघर, थरुहट रंगशाला र मदन भण्डारी सभागृह यसअघि नै निर्माण भएका छन् भने २ दर्जनको हाराहारीमा नयाँ घर बनिरहेका छन्। सोही जग्गामा तरकारी तथा फलफूलको बजार पनि बसाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।