काठमाडौं- नेपाली क्रिकेट टिम बिहीबार बिहान इंग्ल्यान्ड प्रस्थान गर्दैछ। आगामी साउन १३ गते इंल्यान्डको लर्ड्स क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टिम इंग्ल्यान्ड जान लागेको हो।
मेरिलबोन क्रिकेट क्लब (एमसिसी), नेपाल र नेदरल्यान्ड्सबीच टी-२० सिरिज हुन लागेको हो।
त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स जानेछ। नेदरल्यान्ड्स विरुद्ध २ खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ। खेल आगामी साउन १६ र १८ मा नेदरल्यान्ड्समा हुनेछ।
२ वर्षअघि डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत भएका २ खेलमा दुवै टिमले समान १–१ खेलमा जित हात पारेका थिए। टी-२० र एकदिवसीय खेलमा नेपालले आफ्नो स्वाभाविक खेल खेल्ने नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले बताएका छन्।
खड्कासँग गरिएको कुराकानी:
नेपालले प्रतियोगितामा भाग लिन लागेसँगै टिम सेलेक्सनमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। यसले टिमलाई कत्तिको सहयोग गर्छ जस्तो लाग्छ?
टिममा पर्न पक्कै पनि प्रतिस्पर्धा बढिरहेको छ। खेलाडी पनि राम्रा-राम्रा आइरहेका छन्। हामीले फरक परिस्थिति अनुसार खेलाडी छान्नुपर्छ। टिमको सन्तुलन मिलाउनुपर्छ। हरेक प्रतियोगितापछि टिम परिवर्तन गर्नु भन्ने पनि छैन। एकदिवसीय मान्यता पाउँदाको टिममा अहिले एक खेलाडी मात्र परिवर्तन गरिएको छ। तर पनि आन्तरिक रुपमा खेलाडीबीच प्रतिस्पर्धा बढ्नु नेपाली टिमका लागि एकदम राम्रो हो। हरेक पोजिसनका लागि प्रतिस्पर्धा हुने भएपछि सबैले राम्रो खेल्न जरुरी छ। यसले फाइदा देशलाई नै हुनेछ। किनकि हरेक खेलाडीले राम्रो प्रदर्शन गर्दा टिमले जित्छ।
अहिलेको टिममा युवा र अनुभवी खेलाडीको मिश्रण छ। कस्तो फाइदा लिन सक्छौं?
जब हामीले डिभिजन २ खेलिरहेका थियौं, त्यसबेला नै उत्कृष्ट टिम भनेका थियौं। किनभने हामीले सबै क्षेत्र कभर गरिरहेका थियौं। स्पिनर, ब्याट्सम्यान, मिडल अर्डर लगायतमा सन्तुलन थियो। अहिले खेलाडीहरु अझै परिपक्व भएका छन्। टिमका युवा खेलाडीले महत्त्वपूर्ण खेलमा उत्कृष्ट खेलेका छन्। जसले सिनियर खेलाडीलाई पनि सहयोग मिलेको छ। जुनियर प्लेयरले सिनियर खेलाडीलाई पनि दबाव दिइरहेका छन्। सबैले एउटै लक्ष्य राखेर अगाडि बढ्ने हो भने हामीले उत्कृष्ट नतिजा निकाल्न सक्छौं।
दुई वर्षअघि नेपालले नेदरल्यान्ड्समै लिस्ट ए खेलेको थियो। अब हामी एकदिवसीय खेल खेल्दैछौं। कत्तिको फरक अनुभव होला जस्तो लाग्छ?
हामीले पछिल्लो पटक दुई खेल खेलेका थियौं। एउटा खेलमा जित निकालेका थियौं। हामीले फेरि त्यस्तै नतिजा निकाल्न सक्छौं भन्ने आसा छ। नेदरल्यान्ड्स उत्कृष्ट टिम हो। हामी आफ्नो स्वाभाविक खेल खेल्ने कोसिस गर्नेछौं।
हामीले राम्रो क्रिकेट खेलिरहेका छौं। दुई-तीन महिनाको ब्रेक भएको छ। तर पनि घरेलु प्रतियोगिताहरु भइरहेका छन्। यसले गर्दा आगामी अगस्ट १ र ३ मा उत्कृष्ट खेल्नेछौं।
सुवास खकुरेल टिममा फर्किएका छन्। यसले नेपाली टिमलाई कत्तिको फाइदा पुग्छ?
उसका लागि चोट ठूलो समस्या थियो। उसले नेपाली टिमका लागि महत्त्वपूर्ण रन बटुलेको छ। जसले टिमको जितमा भूमिका खेलेको छ। उसले फेरि पनि त्यस्तै खेल्छ भन्ने आसा छ। चोटपछि कमब्याक गर्न त्यति सजिलो पनि हुन्न। उसले घरेलु प्रतियोगिता राम्रो खेलेर आएको छ। त्यस्तै, हाम्रो विकेटकिपर पनि खाँचो भएकाले उसलाई ल्याएका हौं। उसले टिममा आफू परेको औचित्य पुष्टि गर्छ भन्ने आसा छ।
सुवासको आगमनले हाम्रो ओपनिङको समस्यामा सुधार आउने अपेक्षा गर्न सकिन्छ?
हामी जुन समयमा पनि क्रिटिकल हुन सक्छौं। को खेलाडी ठीक छ, कुन खेलाडी ठीक छैन, यो ठिक कि त्यो ठिक जस्ता प्रश्न जुनसुकै बेला हुन्छ। कुनै पनि खेलाडी छान्दा हामीले तीन-चार वटा स्थान दिनेबारे सोच्छौं। यो भएको भए के हुन्थ्यो, त्यो भएको भए के हुन्थ्यो भन्छौं। तर, सुरुवाती ब्याटिङमा कसरी स्थायित्व ल्याउने भन्ने हाम्रो लागि चुनौती हो।
कसले कति रन स्कोर गर्यो भन्नुभन्दा पनि नेपालले जित्यो कि जितेन भन्ने कुराले फरक पर्छ। त्यसका लागि हामीले हरेक क्षेत्रमा ध्यान दिनुपर्छ। हामी एक-अर्कालाई साथ दिन्छौं, चाहे त्यो ओपनर होस् या मिडल अर्डर, बलर, ब्याट्सम्यान होस्। टिम भावनाले खेलेर राम्रो नतिजा निकाल्न चाहन्छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।