काठमाडौं– गोर्खा फुजेलकी गंगामाया अधिकारीको अनसन अन्त्य गराउने समयमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तमाङले गरेको सहमति अनुसार ६ जनाको अनुगमन समिति गठन भएको छ। कानुन मन्त्रालयले गृहमन्त्रालयका उपसचिव वशिष्ट कुमार घिमिरे र गंगायायाको तर्फबाट कनकमणि दिक्षित, सुवोध प्याकुरेल, चरण प्रसाईं, बाबुराम गिरी र रामआशिष कार्कीलाई समितिकाे सदस्य तोकेको छ।
छोराको हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनसन बसेकी गंगायायासँग कानुन मन्त्री तमाङले मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई साक्षी राख्दै असार २९ गते २ बुँदे सहमति गरेका थिए। उक्त सहमति कार्यान्वयनका लागि मन्त्रालयले बुधबार अनुगमन समिति निर्माण गरेको हो।
सरकारले २०७२ असोजमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अधिकारीले अनसन तोडेकी थिइन्। १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजाय माग गर्दै उनी गत जेठ १५ गतेदेखि अनसन बसेकी थिइन्।
२० लाख भरण–पोषण र एक करोडको अक्षयकोष निर्माण कार्यान्वयन हुँदै
अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीले २०७१ असोज ६ गते ज्यान गुमाएका थिए। युद्धकालमा छोरा र अनसनकै क्रममा पति गुमाएपछि गंगामायाले माग पूरा नभएसम्म अनसन नतोड्ने अडान राखेकी थिइन्।
सरकारले पूर्व सहमति बमोजिम एक करोडको अक्षय कोष र भरणपोषणका लागि तत्काल २० लाख रुपैयाँ उपलब्ध गराउने वचनवद्धता व्यक्त गरेको थियो। उक्त प्रतिवद्धता समेतको कार्यान्वयनको अनुगमनका लागि समिति गठन भएको मन्त्रालयले जनाएको छ।
सुशील कोइराला नेतृत्वकै सरकारले २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। अक्षय कोषमा जम्मा भएको पैसाको भने उनले ब्याजमात्रै भोगचलन गर्न पाउनेछिन्। कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन नेकपा माओवादीले लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।