काठमाडौं- नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्यान्डको म्युजिक भिडियोका रुपमा आएको छ।
श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो नेपथ्यले एक दशकभन्दा अघिदेखि आफ्नो हरेकजसो कन्सर्टहरुमा सुनाउँदै आएको छ। वामपन्थी विचारधाराबाट प्रभावित भई कुनै समय रामेश र मञ्जुलले सुरु गरेको देशव्यापी सांगीतिक जागरणको महत्त्वपूर्ण सिर्जनाका रुपमा रहेको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै आएका छन्।
खासगरी तीसवर्षे पञ्चायत कालमा यो गीतले सांकेतिक सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो। यो गीतलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिबन्ध लगाए पनि जनस्तरमा भने लोकप्रियता चुलिँदै गयो। २०४६ र २०६२ सालको जनआन्दोलनहरुमा यो गीत जताततै बजेको थियो।
पहिलो जनआन्दोलन लगत्तै बनेको फिल्म ‘बलिदान’मा समावेश गर्न यसको व्यवस्थित रेकर्ड भएको थियो।
पछिल्लो समय भने यस गीतलाई नेपथ्यले रेकर्ड गरी आइट्युन, गुगलप्ले र स्पोटिफाइ जस्ता ‘भर्चुअल स्टोर’ माध्यमबाट सार्वजनिक गरेको छ। यो गीत नेपथ्यको दसौं एल्बममा समेटिएर आउने तयारीमा छ।
यो म्युजिक भिडियो नेपथ्यले केही समयअघि गरेको नेपाल भ्रमणका क्रममा आयोजित कन्सर्टहरुका दृश्यहरुलाई जोडेर तयार पारिएको छ। भिडियोमा यो गीत गाइरहेका बेला मुलुकभित्र र बाहिरका बेग्लाबेग्लै दर्शक जमातको उत्साह र उमंग पनि देख्न सकिनेछ।
‘शान्ति संगीत यात्राको क्रममा एकपटक हामीले यो गीत गाइरहँदा रामेश दाइ र मञ्जुल दाइ पनि हेर्न आउनुभएको थियो’, नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यतिबेला यो गीतलाई यस रुपमा गाएर पछिल्लो पुस्ताका तन्नेरीहरु माझ लोकप्रिय बनाइदिएकोमा हामीलाई थप प्रोत्साहित गर्नुभएको थियो।’
अमृतका अनुसार, लन्डनको विम्बले एरेनामा आयोजित भव्य कन्सर्टपछि गीतकार श्याम तमोट स्वयं नेपथ्यको कार्यालयमा आएर ब्यान्डले यस रुपमा आफ्नो गीत अघि बढाएकोमा खुसी प्रकट गरेका थिए।
गीतकार तमोट नेपथ्यले यस गीतलाई आफ्नो बनाएर शान्ति र शिक्षा अभियानमा प्रयोग गरेको देख्दा आफू निकै प्रभावित भएको सुनाए।
‘संगीत प्रस्तुत गर्ने नेपथ्यको मौलिक तरिकाले यो गीतलाई अझ फराकिलो श्रोता घेरामा पुग्न मद्दत गरेको छ’, उनले भने।
यो गीतको भिडियो तयार पार्न देशभित्रका साथै विदेशका समेत कन्सर्टहरुको दृश्य समेटिएको नेपथ्यको प्रवर्द्धक तथा प्रस्तोता नेपालयका किरणकृष्ण श्रेष्ठले बताए।
‘यो गीतले बोकेको ऊर्जा र भावना प्रस्तुत गर्न लाइभ कन्सर्टहरुका दृश्य नै शक्तिशाली हुन्छ भन्ने लागेकोले बेग्लाबेग्लै स्थानका रेकर्डहरुलाई समेटेका छौं’, उनले भने।
अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।