काठमाडौं– राष्ट्रिय जनता पार्टी(राजपा)को संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन्।
राजपा संसदीय दलको आज बसेको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई संसदीय दलको नेतामा चयन गरेको राजपाका सांसद एकवाल मियाँले नेपाल लाइभलाई जानकारी दिए।
निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि दलको नेता चयन गर्न नसक्दा आलोचना हुने गरेको थियो। पछिल्ला केही दिन भने सहमति वा निर्वाचनबाट दलको नेता चयन गर्ने विषयमा पार्टीमा कसरत भइरहेको थियो।
संयोजक ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नेताका लागि आकांक्षी थिए। ठाकुर पक्ष सहमतिमा दलको नेता चयनको लागि प्रयास गरिरहेका थिए भने महतो निर्वाचनमै गएर भए पनि आफू अध्यक्ष बन्न चाहेका थिए। तर अन्तिममा ठाकुरले सो पद पाएका हुन्।
अध्यक्ष मण्डलका अन्य ३ सदस्यहरु महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झा संसदीय दलको नेताका लागि ठाकुरको पक्षमा उभिँदै आएका थिए। उता अर्का सदस्य शरदसिंह भण्डारीले भने महतोको पक्ष लिइरहेका थिए।
यो पनि पढ्नुहोस्ः
राजपा : संसदीय दलको नेता चयनमा सहमति कि चुनाव?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।