काठमाडौं– अविरल वर्षाका कारण प्रभावितहरुका लागि राहत सामग्री उपलब्ध गराउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अवरुद्ध सेवा सुविधा यथाशीघ्र सुचारु गर्ने÷गराउने व्यवस्थाका लागि सरकार लगायत सम्बद्ध सबैसँग आग्रह गरिएको छ।
गए राति परेको वर्षाका कारण भक्तपुरका धेरै क्षेत्र डुबानमा परेको थियो। वर्षाका कारण भक्तपुर र काभ्रे बढी प्रभावित भएका छन्। अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले देशका विभिन्न जिल्लामा धनजनको क्षति भएको उल्लेख गर्दै कांग्रेसले उक्त घटनाबाट दुःखी भएको जनाएको छ।
यसै क्रममा भक्तपुरको चाँगुनारायण–७ मझुवा टोलमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको घटनाप्रति कांग्रेसले समवेदना व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।