पोखरा– पोखरा लेखनाथ महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर भएसँगै कास्की जिल्ला बुधबारबाट पूर्ण खोप सुनिश्चित जिल्ला बनेको छ। पोखरा महानगरपालिकाका २६, २७, २९, ३०, ३१ र ३२ नम्बर वडालाई पूर्ण खोपयुक्त भएको सुनिश्चित भएसँगै महानगर र जिल्लालाई एकैचोटी पूर्ण खोपयुक्त क्षेत्र घोेषणा गरिएको हो।
कार्यक्रममा पूर्ण खोपको प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जिल्लामा रहेका १५ महिनाभन्दा कम उमेरका ८ हजार ६ सय ९८ जना शिशुले खोप पाइसकेको निश्चित भइसकेको बताए। ‘१५ महिनासम्मका शिशुले ११ प्रकारका रोग विरुद्ध खोप लगाइसकेको पाइएको छ,’ उनले भने, ‘अब हामीले १६ देखि १५ महिनासम्मका शिशुलाई निगरानीमा राख्नु छ।’
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनताको स्वास्थ्य सुरक्षा गर्न प्रदेश सरकारले केन्द्र तथा स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताए। ‘प्रदेशका लागि खोप ऐन ल्याएर २ करोड रुपैयाँको कोष बनाउने योजना ल्याएका छौं, आवश्यक परेमा २० करोड रुपैयाँको पनि ल्याउँछौं,’ उनले भने। प्रदेशका जनताको स्वास्थ्य अवस्था सुधार गर्न जुनसुकै चुनौति पनि सामना गर्न प्रदेश सरकार तयार रहेको उनले प्रष्ट पारे।
कास्की जिल्ला पूर्ण खोप भएपछि प्रदेशमा स्याङ्जामात्रै पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छ। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले स्याङ्जालाई समेत चाँडै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने बताइन्। ‘स्याङ्जामा पनि केही प्रक्रिया मिलाउन बाँकी छ, त्यसपछि प्रदेश नै पूर्ण खोपयुक्त बन्छ,’ उनले भनिन्। खोपयुक्त घोषणा गर्नुभन्दा त्यसैलाई निरन्तरता दिनु चुनौतिपूर्ण रहेको उनले औंल्याइन्।
प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएपनि त्यसले अन्य जिम्मेवारीसमेत थप गरेको बताए। ‘१५ महिनासम्मका बच्चाले त पाए, त्यो भन्दामाथिका बच्चाको निगरानी कसले गर्ने?’ उनले भने, ‘नेपालमा न्यूनतम मापदण्डका खोप मात्रै पाएका छौं, गुणस्तरीय खोप अझै उपलब्ध हुनसकेको छैन।’
खोप लगाएको या नलगाएको, बच्चाहरुको स्वास्थ्य अवस्थाको बारेमा ‘फलोअप’ र निगरानी राख्न नसक्दा कास्की ढिलो गरी खोपयुक्त जिल्ला घोषणा भएको उनले प्रष्ट्याए।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले केन्द्र तथा प्रदेश सरकारले सुविधा दिएजस्तो गरेर पनि पूर्ण रुपमा नदिएको आरोप लगाए। ‘एकातिर सुविधा तथा अधिकार दिएजस्तो गर्छन्, अर्कोतिर तान्छन्,’ उनले भने। स्थानीय तहमा रहेका ठूला स्वास्थ्य संस्था प्रदेश सरकारले आफ्नो मातहतमा राख्न लागेको प्रसंगमा उनले यस्तो भनाइ राखेका हुन्। मेयर जिसीले सबै राजनीतिक दल तथा स्वास्थ्य स्वयम्सेवकको सहयोगले नै पूर्ण खोपयुक्त महानगर घोषणा गर्न सफल भएको धारणा राखे।
जिल्ला स्वास्थ्य सेवा विभाग अन्र्तगतको बाल स्वास्थ्य महाशाखा प्रमुख झलकराम गौतमले खोपयुक्त जिल्ला घोषणा गरेर अन्य जिम्मेवारीबाट पन्छिन नहुने बताए । उनले भने, ‘आउने दिनमा खोपसँगै अझै धेरै काम गर्नुपर्छ, अझै धेरै जिम्मेवारी थपिएको छ।’ उनले स्थानीय तहसँग मिलेर खोप कार्यक्रम अझै व्यवस्थित गर्दै लैजाने बताए। देशले खोप निःशुल्क तथा जनशक्ति उपलब्ध गराउँदैमा सबैले खोपको सुविधा नपाउने हुनाले त्यतातर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।
खोप सेवा अन्र्तगत जन्मने बित्तिकै क्षयरोग विरूद्ध, ६ हप्तामा भ्यागुते रोग, लहरे खोकी, टिटानस, हेमोफिलस निमोनिया, हेपाटाइटिस बी, न्युमोकोकस निमोनिया, ९ महिनामा दादुरा र रूबेला, १ वर्षमा जापानिज इन्सेफलाइटिस विरूद्ध खोप लगाउनुपर्ने हुन्छ।
कास्कीमा सर्वप्रथम २०७२ सालमा तत्कालिन चापाकोट गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको थियो। त्यस्तै तत्कालिन पोखरा उपमहानगरपालिका २०७२ सालमा पूर्ण खोपयुक्त महानगर घोषणा भएको थियो। महाननगरमा तत्कालिन लेखनाथ नगरपालिका जोडिएपछि दोस्रोपटक बुधबार पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।