सातै प्रदेशका प्रदेश प्रमुखको नियुक्ति खारेज

दुर्गा दुलाल | २०७५ असार २१ बिहीबार | Thursday, July 05, 2018 ०५:३१:०४ मा प्रकाशित

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा नियुक्ति पाएका सातै प्रदेशका प्रदेश प्रमुखहरुको नियुक्ति पनि सरकारले खारेज गर्ने निर्णय गरेको छ।

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ मा नियुक्ति पाएका प्रदेश प्रमुखहरुको पद खारेजी गर्ने निर्णय गरेको र ती ठाउँमा नयाँ व्यक्ति नियुक्त हुने कानुनमन्त्री शेरबहादुर तामाङले नेपाल लाइभलाई बताए। 

तत्कालीन सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन्।

संविधानको धारा १६३ को ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने उल्लेख छ। 

सरकारको सिफारिस राष्ट्रपतिले स्विकार गरेमा प्रदेश प्रमुखको पद रिक्त हुनेछ।

सरकारले निर्वाचन आचारसंहिता लागू भएदेखि नयाँ सरकार गठनहुनुअघिका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको हो।  

 

यो पनि : चलचित्र विकास बोर्डकी निकितादेखि पुनर्निर्माण प्राधिकरणका सिइओ भुसालसम्मका नियुक्ति खारेज