लन्डन- 'हामी बेलायत देख्छौं, फ्रान्स देख्छौं र देख्छौं तिम्रो रंगीन अन्डरप्यान्ट।' यो वाक्य बेलायतमा बर्सेनि हुने टेनिसको प्रतिष्ठित प्रतियोगिता विम्बल्डनमा आयोजकले कोर्टमा कडा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरूले लगाएको रंगीन अन्डरवेयर हेर्दै फेर्न वाध्य पारेपछि अमेरिकी अनलाइन हफिङ्टन पोस्टले लेखेको हो।
ग्रान्डस्लाम टेनिस प्रतियोगितामध्ये विम्बल्डन मात्र यस्तो प्रतियोगिता हो, जसमा खेलाडीले सेतो पोशाक लगाएर खेल्नुपर्छ। बाँकी तीन प्रतियोगिता अस्ट्रेलियन ओपन, अमेरिकी ओपन र फ्रेन्च ओपनमा रंगीबिरंगी पहिरनमा खेल्न खेलाडीलाई छुट छैन। जहाँ ड्रेस कोडको कुरा आउँछ, विम्बल्डनले ‘ड्राकोनियन’ नियम नै ‘फलो’ गर्छ र जस्तोसुकै सेलिब्रेटी खेलाडी किन नहोस्, अन्डरवेयर समेत फेर्न लगाउँछ। खेलाडीको अन्डरवेयर हेर्न उसले सुपरभाइजर नै मैदानमा पठाउँछ।
कुरा जुलाई मध्यतिरको हो। विम्बल्डनको जुनियर प्रतियोगिताको सिंगल्समा जुरज रोडिनोभ र ब्लेक एली बीचको खेल अम्पायरले रोके र जुरजलाई हाफ प्यान्ट तल सार्न लगाएर अन्डरवेयर देखाउन अह्राए। जुरजले रंगीन अन्डरवेयर लगाएको देखेपछि अम्पायरले तत्काल मैदानबाटै आयोजक पदाधिकारीलाई रिपोर्ट गरे। प्रतियोगिता रोकियो र तुरुन्त एक जना ‘अन्डरवेयर सुपरभाइजर’ जुरजको ‘रंगीन अन्डरवेयर’ अपराध छानबिन गर्न मैदानमै पदार्पण गरिन्। र, ती अन्डरवेयर सुपरभाइजरले जुरजको अपराध अक्षम्य भएको ठहर गर्दै तत्काल रंगीन अन्डरवेयर खोलेर सेतो लगाउन उर्दी जारी गरिन्।
नभन्दै खेल रोकियो र जुरजले सेतो अन्डरवेयर लगाएर आए। धन्न, त्यसपछि भने ती सुपरभाइजरले फेरि उनको अन्डरवेयर हेरिनन्। शायद अन्डरवेयर फेरेकैले होला जुरजले ब्लेकलाई पराजित गर्दै खेल जिते।
विम्बल्डनको ड्रेसकोडको कुरा यतिमै सकिँदैन। जुनियर ब्वाइज डबल्सतर्फ खेलिरहेको पहिलो नम्बरको जोडी सम्बर पिरोस र यिबिङ वुको खेल पनि सुपरभाइजरले रोकेर अन्डरवेयर हेर्दा दुवै जना कालो अन्डरवेयर लगाएकोमा दोषी ठहरिएपछि उनीहरूलाई पनि सेतो अन्डरवेयर लगाउने सजाय दिइयो। उनीहरूले पनि सेतो अन्डरवेयर फेरेपछि खेल ६–४, ६–१ ले आफ्नो पक्षमा पारेका थिए।
पख्नुस्, विम्बलडनको कुरा अझै बाँकी छ। गाइँगुइँ त कतिसम्म छ भने विश्वकी ९ नम्बरमा रहेकी अमेरिकी महिला टेनिस खेलाडी भेनस विलियम्सलाई समेत खेलको बीचमा अन्तर्वस्त्र फेर्न लगाइएको थियो। अल इङ्ल्यान्ड लन टेनिस क्लबले विम्बल्डनको पहिलो चरणको खेल बीचमै रोकेर भेनसलाई गुलाबी रंगको ब्रा फेर्न लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।