विराटनगर– तीन महिनाअघि स्थानीय एक महिलालाई बलात्कारपछि हत्या गरेर फरार भएका आरोपी मोरङको मिक्लाजुङ ७ का ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त टोलीले बस्नेतलाई बुधबार पक्राउ गरेको हो। २०७४ फागुन १९ गते राति स्थानीय कमल बोहराको घरमा धामी बसेको हेरेर फर्कंदै गरेकी मिक्लाजुङ ७ की शान्ति तामाङलाई बस्नेतले बलात्कार गरी हत्या गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार मदिरा सेवन गरी फर्कंदै गरेका हिकबहादुर र शान्तिको बेलगौडे भन्ने स्थानमा भेट भएको थियो। दुवैले सँगै खैनी, चुरोट खाएको र घरसम्म पुर्याई दिन्छु भन्दै मिक्लाजुङ ७ स्थित ग्यांग्री खोलामा पुगेपछि बस्नेतले बलात्कारपछि ढुंगाले हानेर वीभत्स तरिकाले हत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
पक्राउ परेका बस्नेतलाई कर्तव्य ज्यानमुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।