महेन्द्रनगर– मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
धनुषामा आयोजित दक्षिण एसियास्तरीय मुसहर समुदायको अगुवा भेलाको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबैभन्दा पछाडि रहेको मुसहर समुदायको उत्थानका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि थुप्रै योजना ल्याएको बताए।
मुसहर समुदाय पछाडि पर्नुमा अशिक्षा नै प्रमुख कारक रहेको बताउँदै उनले बालबालिकाको शिक्षामा जोड दिन अगुवालाई आग्रहसमेत गरे। अधिकार खोजेर मात्र नपाइने बताउँदै उनले अधिकारका लागि पहिले आफैँ शिक्षित र सजग हुनुपर्ने उल्लेख गरे।
नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले भने,‘मुसहर डोमजस्ता समुदायसँग धेरै समस्या छन्। समस्या हामी कहाँ ल्याउनुस्, प्रदेश सरकार भ्याएसम्म सहयोग गर्न तयार छ।’
शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता समस्या समाधानका लागि प्रदेश सरकारले विशेष प्याकेज नै ल्याएको उल्लेख गर्दै उनले ती योजनाबाट लाभ लिन आग्रहसमेत गरे। भोर संस्थाको मूल आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य रामआशिष यादव, पूर्वसभासद असर्फी सदा, राष्ट्रिय भूमि मुसहर विकास परिषद्, भारतका अध्यक्ष उमेश माझी, गजेन्द्र माझी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलगायतको उपस्थिति थियो।
सम्मेलनमा नेपाल–भारत र बंगलादेशका करीब २ सय मुसहर समुदायका अगुवा सहभागी भएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।