काठमाडौं– बालक राजा रणबहादुर शाहको नाममा नायवी शासन चलाउने राजेन्द्र राज्यलक्ष्मीलाई नेपालको राजनीतिक इतिहासमा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान अगाडि बढाउने कुशल प्रशासक मानिन्छ। प्रतापसिंह शाहको अल्पायुमै निधन भएपछि उनले छोरा रणबहादुरको नाममा ८ वर्ष शासन चलाउँदै एकीकरणको दोस्रो चरणको अभियान चलाएकी थिइन्।
'राजमाता' उपनामले सम्बोधन गरिने उनीबारेको नृत्य नाटिका 'राज्यलक्ष्मी' अहिले राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।
घोडा चढेर आफैं युद्ध मैदानमा जाने राजेन्द्रलक्ष्मीले चौबीसे राज्यको संयुक्त आक्रमणलाई विफल तुल्याउँदै नेपालको सिमाना कालीगण्डकीसम्म विस्तार गरेकी थिइन्। उनको जीवन संघर्ष र तत्कालीन 8का महिलाहरुको दृष्टिकोण समेटिएको नाटक नम्रता केसीको परिकल्पना र निर्देशनमा शुक्रबारदेखि मञ्चन हुन थालेको हो।
नाटकमा निश्मा घिमिरे, नम्रता केसी, रिगा घिमिरे, कुन्ती सिमाली, मनिषा बस्नेत, निशा कार्की, रेणु योगी लगायत कलाकारको अभिनय छ।
नाटक असार २४ गतेसम्म सोमबार बाहेक हरेक साँझ साढे ५ बजे र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।