काठमाडौं- नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा फूलमान वल प्रथम भएका छन्।
महोत्सवमा वाचनका लागि अन्तिम चरणमा छनोटमा परेका ३६ कविमध्ये काभ्रेका कवि वलको 'इन्द्रेणी गीत' शीर्षकको कवितालाई निर्णायकहरुले सर्वोत्कृष्ट ठहर्याएका हुन्।
यस्तै, धादिङकी कवि सुनिता खनालको कविता 'श्यामश्वेत फोटो' दोस्रो भएको छ। एलिना दुलाल (तेह्रथुम), जीवन खत्री (रामेछाप) र मेनुका चापागाईँ (मोरङ) तृतीय भए।
प्रतिष्ठानले हरेक वर्ष संस्थाको वार्षिकोत्सवको अवसर पारेर असार ९ गते देशव्यापी राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ।
सर्वोत्कृष्ट भएको कविता-
इन्द्रेणी गीत
– फूलमान वल
वर्षौंदेखि तिम्रो इतिहासले–
विस्मृतिको बुइँगलमा मिल्काइदिएको
पेङदोर्जेको उही प्राग् ऐतिहासिक डम्फु बजाउँदै
गाएकै हुँ मैले,
नयाँ युगको फापरे व्हाई
यसको मतलब यो होइन कि–
मैले मादलको ताल बिगारेँ
मादललाई त
लाउँदै मायाको खरी
पागल प्रेमीले झैं
भिर्दै आएकै हुँ– दिलको कम्मरमा
गाउँदै आएकै हुँ– तिम्रै एकोहोरो समला र चुट्की
हो मित्र,
वर्षौंदेखि तिम्रो इतिहासले
विस्मृतिको बरन्डामा बाँधिराखेको
आखे म्हेम्हेको उही पुरानो टुङ्ना बजाउँदै
गाएकै हुँ मैले
नयाँ युगको म्हेन्दोमाया
यसको मतलब यो होइन कि–
मैले सितारको धुन बिगारेँ
सितारलाई त
झन् तन्काउँदै प्रणय तार
पागल प्रेमीले झैं
राख्दै आएकै हुँ– मनको देब्रे कुनामा
गाउँदै आएकै हुँ– तिम्रै एकोहोरो वसन्त-वन्दना
बरु कुनै समय,
सहगोत्री सहनाई र सारंगीलाई
मिल्काएर ढोका बाहिर तिमीले
बनाइदिएका थियौ अछुत
र, निदाएका थियौ लामो समय तिमी
घमण्डको राज पलङ
दुखाएर मुर्चुङ्गा, ढोल, डम्फु र बाँसुरीमन
जुन दिनदेखि तिमी निदायौ त्यसरी
त्यही दिनदेखि,
–कमजोर बनेको हो हाम्रो आँगनको चिरबिर लय
–सुष्क सुनिएको हो स्वाभिमानी सारंगी
–रुन थालेको हो सहगोत्री सहनाई
हो, त्यही दिनदेखि नै
बज्न थालेको हो हाम्रो आँगनमा
आतंकको डरलाग्दो ड्रमसेट
सुनिन थालेको हो चारैतिरबाट
एकसरो एकसरो अहंको आलाप
हो मित्र,
वर्षौंदेखि तिम्रो इतिहासले
विस्मृतिको बुइँगलमा मिल्काइदिएको
पेङदोर्जेको उही प्राग् ऐतिहासिक डम्फु बजाउँदै
गाएकै हुँ मैले,
नयाँ युगको बिहानी गीत
तिमीले सदियौंदेखि गाउँदै आएको
एकसरो गीतमा
मात्र मैले,
चाहेको हुँ थप्न एउटा रंगीन लय
जसरी सप्तरंगमा उभिन्छ इन्द्रेणी
जसरी सप्तक–स्वरमा गुन्जिन्छ संगीत
त्यसरी नै गाउन चाहेको हुँ
मैले पनि समयको
एउटा इन्द्रेणी गीत।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।