ल्हासा- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच शुक्रबार भेटवार्ता भएको छ।
नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फेरेन्स सेन्टरमा शुक्रबार भएको वार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको बताउँदै आगामी दिनमा नयाँ आधारमा सम्बन्धलाई प्रगाढ बनाएर लैजानुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि खछ्याङसँग भएको भेटवार्ता र सहमतिका आधारमा नेपाल र चीनबीचको सम्बन्ध थप नयाँ उचाइमा पुगेको र तिब्बत सरकारसँगको सम्बन्धसमेत थप प्रगाढ बनेकामा खुसी व्यक्त गरे।
ऐतिहासिक कालदेखि नै नेपाल-तिब्बत सम्बन्ध रहेको भन्दै बदलिँदो अवस्थामा त्यसलाई अझ फराकिलो र मैत्रीपूर्ण बनाउँदै सहयोगका विविध आयाममा समेत एकअर्का पक्षले जोड दिँदै कार्यान्वयनमा जान प्रधानमन्त्री ओलीले तिब्बत सरकारका अध्यक्षसँग आग्रह गरे।
तिब्बत सरकारका अध्यक्ष छिटालाले नेपाल र तिब्बतबीचको सम्बन्ध आगामी दिनमा अझ समृद्ध बन्ने विश्वास व्यक्त गरेका थिए। तिब्बत सरकारका तर्फबाट नेपाललाई सधैँ सहयोग रहनेछ भन्दै छिटालाले आपसी हित र चासोका विषयलाई सम्बोधन गर्दै जाने विश्वास दिलाए।
सो अवसरमा चीनको ‘वान बेल्ट, वान रोड'लाई कार्यान्वयनका लागि हिमाली सीमापार बहुआयामिक सम्पर्क सञ्जालको कार्य ढाँचाअन्तर्गत सडक, रेल, हवाई र सञ्चार सम्पर्कलाई व्यापक बनाउन दुई देश सहमत भएको विषय संयुक्त वक्तव्यमा समेत आएको भन्दै प्रधानमन्त्री ओली र अध्यक्ष छिटालाले कार्यान्वयनका लागि दुवै पक्ष मिलेर अगाडि बढ्ने बताए।
यस्तै अन्तरदेशीय प्रसारण लाइन, तिब्बती राजमार्ग प्रयोगका विषयमा प्रधानमन्त्री तहमा भएको सहमति तथा पर्यटन प्रवर्धन, सीमा व्यवस्थापन तथा नेपालीलाई तिब्बत सरकारले दिएको सुविधा तथा अन्य विषयमा समेत छलफल भएको थियो।
प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा अध्यक्ष छिटालाले शुक्रबार साँझ रात्रिभोजको आयोजना गरेका छन्। विशेष सम्वाददाता हरि लामिछाने/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।