चितवन- राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको अधिकार प्रत्याभूत गराउनका लागि ७ वटै प्रदेशमा सूचना आयोग गठन गर्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ चितवन र राष्ट्रिय सूचना आयोगद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सूचनाको हक कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा उनले जनताको सूचना पाउने अधिकारलाई बलियो बनाउन केन्द्रमा रहेको सूचना आयोगको अधिकार कटौती गर्दै प्रदेश र स्थानीय तहमा पुर्याउनुपर्नेमा जोड दिए।
प्रमुख सूचना आयुक्त बाँस्कोटाले स्थानीय तहसम्म सूचना आयोगको संरचना बन्दा जनप्रतिनिधिलाई जनताको काम गर्न उत्तरदायी बनाउने बताउँदै देशमा अहिले ३० प्रतिशत सरकारी कार्यालयले मात्र सूचना सार्वजनिक गर्ने गरेको जानकारी दिए।
२ हजार ५ सय सरकारी कार्यालयमध्ये ७ सय कार्यालयले मात्रै हरेक ३/३ महिनामा सूचना सार्वजनिक गर्ने गरेको उल्लेख गर्दै उनले १० प्रतिशत जनताले मात्रै सूचनाको हकको प्रयोग गरेकाले अब जनतालाई यसबारे सशक्तीकरण गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।