काठमाडौं– ‘माछीले खाने खोलीको लेउ’, ‘जताजता पिरतीको बाटो’, ‘आई लभ यु’ बोलका गीत नसुन्ने नेपाली कमै होलान्। बसन्त सापकोटाको संगीत, सरोज ओली, मेलिना राई, इन्दिरा जोशीको स्वरमा भरिएका गीतहरु नेपाली बजारमा निकै लोकप्रिय छन्। यिनै लोकप्रिय गीतका लेखक हुन्, दिनेश थपलिया।
पेसाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा कार्यरत थपलियाका गीतहरु दर्शक र स्रोताहरुले धेरै रुचाएका छन्। जन्मथलो संखुवासभाको खाँदबारीमा शिक्षादीक्षा प्राप्त गरेका थपलिया सानै उमेरबाट साहित्य लेखनमा रुचि राख्थे। २०४२ सालमा ओभरसियर पोस्टबाट सरकारी जागिरको सुरुवात गरेका थपालिया जागिर सँगसँगै साहित्य लेखनमा पनि सक्रिय रहे।
समय समयमा कथा, कविता र साहित्यिक लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशन गरेका थपलियाले उत्तिकै मात्रामा गीत पनि लेखेका छन्। 8 परिवर्तन र सन्देशमूलक सिर्जनमा कलम चलाउन चाहने थपलियाले पत्रपत्रिकामा प्रकाशित लेखनले गीतसंगीत जस्तो 8मा दीर्घकालीन परिवर्तन गर्न नसक्ने तर्क गरे।
लेखनमा लगातार
२०६६ मा उनका गीतहरुको पहिलो एल्बम ‘संसार’ सार्वजनिक भयो। त्यससँगै अन्य राष्ट्रिय र आधुनिक गीतका थप २ वटा एल्वम पनि सार्वजनिक भए। यही ३ एल्बमको सफलता र प्रतिक्रियाबाट हौसिएका उनी गीत लेखनमै निरन्तर लागिरहेका छन्।
'कस्मेटिक' गीतले बजार खाइरहेको समयमा उनी आफू भने नेपथ्यमै छन्। भन्छन्, ‘मेरो लेखनमा रहेका गीतहरु बजारमा ५०–६० वटा छन् तर म चाहिँ छैन।’
आफ्ना गीतहरु विभिन्न स्थानमा बजिरहेका हुन्छन् तर त्यहाँ उनको उपस्थिति हुँदैन। किनकि उनले आफू लेखक हो भनेर अहिलेसम्म कोही कसैसँग खुलेर कुराकानी गरेका छैनन्। संयोग र परिस्थिति अनुकूल सिर्जनामा कलम चलाउने थपलियाका शब्दहरु मौलिकपन झल्काउने खाल हुन्छन्।
आफ्नो जागिरे अनुभवले पनि गीतमा त्यो प्रभाव पर्ने उनको भनाइ छ। 'कहिले सञ्चार मन्त्रालय, कहिले पर्यटन मन्त्रालय त कहिले संस्कृत विभागमा काम गर्नुपर्यो,' उनी भन्छन्, 'नेपालको मौलिकपनलाई निरन्तरता दिई संस्कृति र पर्यटनमा विकास गर्न सकिन्छ भन्ने मान्यतामा मौलिक शब्दमा खेलेर कलम चलाउन सुरु गरेँ।'
सरकारी काममा सधैं व्यस्त रहने थपलियाको लेखनशैली पनि फरक छ। उनी यात्रामा होस् या फुसर्दमा गीत लेखनको सन्दर्भ खोजिइरहेका हुन्छन्। कुन कुराले मनमा कुतकुत्याउँछ त्यसैलाई शब्दमा लिपिबद्ध गर्दछन्। तर गीतलाई सुरु गरे पनि अन्त्य गर्न निकै गाह्रो हुने उनले अनुभव सुनाए, ‘एकाध गीतबाहेक मैले एकै ठाँउमा एकै पटक पूरा लेखन गरेको छैन। त्यो समय सन्दर्भ विषय र आफ्नो भावमा निर्भर हुने रहेछ।'
उनले भर्खरै विद्यालयका बालबालिकाहरुका लागि एउटा गीत लेखेका छन्। जसन रेकर्ड भएर सार्वजनिक हुने तयारीमा छ। देशको धर्म संस्कृति र मौलिकपनको सिकाइ विद्यालयबाट नै हुने भएकाले यसमा जतिसक्दो मौलिक शब्द चयन गर्ने प्रयास गरेको उनले बताए। कुराकानीका क्रममा थपलियाले आफ्नो सिर्जनालाई उत्साहित हुँदै गुनगुनाउन समेत भ्याए :
कसले किनिदियो कान्छी छमछम बज्ने चुरा
पानी कुवाको गुनिउँ चोली पटुकी कति सुहाको
'नाई नभन्नु ल ५' फिल्मका लागि पनि उनले गीत तयार पारेका छन्। टाइटल गीत ‘पानी कुवाको’ गीत सार्वजनिकको तयारीमा छन्।
करोड क्लबमा ह्याट्रिक
उनका ३ वटा गीत त करोड क्लबमा नै दर्ता भइसकेका छन्। ‘माछीले खाने खोलीको लेउ’, ‘जताजता पिरतीको बाटो’, ‘आई लभ यु’ गीतलाई युट्युबमा करोडौँ दर्शकले हेरिसकेका छन्। उनी यस्ता एक्ला गीतकार पनि हुन्, जसका गीत सार्वजनिक भएको छोटो समयमै करोड क्लबमा प्रवेश गर्न सफल भए। अर्थात् उनका गीतहरुले एकपछि अर्को गर्दै करोड क्लबमा ह्याट्रिक हानेका छन्।
यसलाई उनी संयोग भन्न रुचाउँछन्। ‘संयोग बनिरहेको छ मेरा लागि। २ वर्षमा ३ वटा गीत सार्वजनिक भए तर ३ वटैलाई करोडभन्दा बढीले मन पराइदिनुभयो,' उनी खुसी हुँदै भन्छन्, 'म दर्शक-स्रोताप्रति आभारी छु।'
रिटायर्ड जीवनलाई पनि साहित्य सिर्जनामै लगाउने सोचमा छन् उनी। 'साहित्य सिर्जना र गीत संगीतले जति आनन्द महसुस हुन्छ, त्यति अन्य क्षेत्रबाट नमिल्ने रहेछ,' उनी ढुक्क छन्, 'त्यसैले म आफ्नो रिटायर्ड लाइफ यही क्षेत्रमा बिताउँछु। किनकि सिर्जना अमर हुन्छ, अरु सबै क्षणिक हुने रहेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।