भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान सुरु भएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान सुरु गर्दै सार्वजनिक एवम् मालबाहक सवारीसाधनका हकमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ।
प्रहरीले मनोहरा पुलदेखि साँगासम्म ७ स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारी साधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनलाई बस स्टपमा मात्रै रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गर्न लगाउनेजस्ता कार्य गर्दै अभियान सञ्चालन गरिएको हो।
प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले ६ लेन सडक र साँगासम्मको सडक दुर्घटनाको दृष्टिकोणले ज्यादै जोखिमपूर्ण भएकाले यो सडकमा दुर्घटना न्यूनीकरणका लागि १० दिने अभियान सुरु गरेको जानकारी दिए।
‘अभियानकै लागि ७ ठाउँमा प्रहरी परिचालन गरेर अभियान सुरु गरेका छौँ।’, उनले भने,‘अभियानमा खटिएका प्रहरीले पर्चा बाँड्ने, सवारी चालकदेखि पैदलयात्रुसम्मलाई परामर्श दिने, बस स्टपमा नरोक्ने, जथाभावी सवारी हाक्ने, तीव्र गतिमा सवारी चलाउने, लेन पालना नगर्ने सवारीसाधनलाई तत्कालै कारबाहीस्वरुप जरिवाना तिराउने कार्य भएको छ।’
अभियान सञ्चालन गर्नु अघि यातायात व्यवसायीसँग दुर्घटना न्यूनीकरणका बारेमा छलफल भएको र व्यवसायीलाई जानकारी दिएरै अभियान सञ्चालनसँगै कारबाही अगाडि बढाएको उनले जानकारी दिए।
दुर्घटना बढेपछि प्रहरीले साँगादेखि भक्तपुर आउँदा र जाँदा टाइम कार्ड लागू गरेको छ।
श्रेष्ठले भने,‘साँगाबाट भक्तपुरतर्फ आउँदा र जाँदा सार्वजनिक तथा मालबाहक सवारीसाधनलाई टाइम कार्ड लगाएका छौँ। निर्धारित समयभन्दा बढी गतिमा हाँके सवारी चालकलाई कारबाही गर्छौं। यसले पनि तीव्रगतिका कारण हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउँछ।’
प्रहरीले सडक दुर्घटनाको अर्को कारणका रुपमा देखिएको छाडा गाईवस्तुको व्यवस्थापन गर्न सम्बन्धित नगरपालिकालाई अनुरोध गरेको बताउँदै नगरपालिकाले त्यसतर्फ चासो नदिएकाले प्रहरी आफैँले हटाउने तयारी गरिएको पनि श्रेष्ठले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।