समूह 'डी'
अर्जेन्टिना भर्सेस क्रोएसिया
समय : असार ७ गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह 'डी' मा आज मध्यराति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ।
क्रोएसियाले २० वर्षपछि विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने क्रममा नाइजेरियालाई २–० गोलले पराजित गरेको थियो। अर्जेन्टिनासँग भिड्नुअघि क्रोएसिया आशावादी देखिएको छ। अर्जेन्टिनालाई पराजित गर्न सके वा बराबरी मात्र खेलेर अंक खोस्न सके क्रोएसियाको दोस्रो चरणको सम्भावना बलियो हुनेछ।
तर, अर्जेन्टिनालाई क्रोएसिया जस्तो सजिलो छैन। पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग अप्रत्याशित रुपमा बराबरीमा रोकिएको अर्जेन्टिनालाई दोस्रो खेलमा जसरी पनि जित हात पार्नुपर्ने अवस्था छ। दबाव खेपिरहेको अर्जेन्टिनाका लागि जितले मात्र रसिया यात्रा सहज हुने देखिन्छ।
नाइजेरिया विरुद्धको खेलपछि क्रोएसियाका फरवार्ड मारियो मान्जुकिकले सबै खेलमा राम्रो खेलेर दोस्रो चरण पुग्ने योजना रहेको बताएका थिए। क्रोएसिया पछिल्ला ३ विश्वकपको पहिलो चरणबाट बाहिरिएको थियो।
अर्जेन्टिनालाई राम्रो फुटबल खेल्नुपर्ने दबाव छ। त्यसका लागि अर्जेन्टाइन टिमको डिफेन्समा सुधार आवश्यक देखिएको छ। विपक्षीको गतिलाई रोक्नका लागि आफ्नो स्वाभाविक खेल कौशल देखाउन सके अर्जेन्टिनालाई सहज हुनेछ। यस्तै, फिनिसिङलाई अझ चुस्त बनाउनु पनि उसको चुनौती हो।
क्रोएसियाले अर्जेन्टिना विरुद्धको खेलमा बल बढी नियन्त्रण लिने रणनीति बनाउन सक्छ। टिममा परिवर्तन गर्दै प्रतिभाशाली खेलाडीलाई मिडफिल्डमा खेलाउँदा अर्जेन्टिनालाई दबाव हुने प्रशिक्षक डालिकले बुझेका छन्। उसले आइसल्यान्डको जस्तै डिफेन्सिभ रणनीति अपनाए अर्जेन्टिनालाई गाह्रो पर्नेछ।
अर्जेन्टिनाले विश्वकपमा निर्धारित र थप समयको खेलमा जित हात नपारेको ३ खेल भएको छ। सन् २०१४ को क्वार्टरफाइनलमा अर्जेन्टिनाले बेल्जियमलाई १–० गोलले हराएको थियो। अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्यान्ड्समाथि पेनाल्टी सुटआउटमा जित हात परेको थियो।
सम्भावित टिम-
अर्जेन्टिना
विल्फ्रेडो काबालेरो, इडुएर्डो सल्भिओ, निकोलास ओटामेन्डी, मार्कोस रोजो, निकोलास टाग्लियाफिको, जाभियर मास्चिरानो, लुकास बिग्लिया, म्याक्सिमिलियानो मेजा, लिओनल मेसी, एन्जेल डि मारिया, सर्जियो अग्युरो।
क्रोएसिया
डानिजेल सुबासिक, सिमे भरसलजको, डोमागोज भिडा, डेजान रोभार्जेन, इभान स्ट्रिनिक, लुका मोड्रिक, इभान राकिटिक, इभान पेरिसिक, आन्द्रेज क्रामारिक, एन्टे रेबिक, मारियो मान्जुकिक।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।