राजविराज– विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पुर्याउन गत बैसाख महिनाभरि विद्यार्थी भर्ना अभियान सञ्चालन भयो। प्रत्येक वर्षको नियमित प्रक्रिया भए पनि प्रधानमन्त्री स्वयं सहभागी भएपछि यस वर्ष सरकारले विद्यार्थी भर्ना अभियानलाई उच्च प्राथमिकता दिएको देखियो।
तर, भौतिक पूर्वाधार र आवश्यक अन्य प्रक्रियाबारे ध्यान नदिँदा भर्ना भएका विद्यार्थीलाई कसरी टिकाउने भन्नेमा कतिपय विद्यालयहरुमा चिन्ता थपिएको छ। आवश्यक भवन तथा फर्निचर लगायतका भौतिक पूर्वाधारको अभाव खेपिरहेका कतिपय विद्यालयमा भर्ना अभियानले अझै समस्या थपेको छ।
तिनै विद्यालयमध्येको एक हो, सप्तरीको राजगढ गाउँपालिका २ बनैनियास्थित खुबलाल जगन्नाथ शक्ति आधारभूत विद्यालय। २०३२ सालमा स्थापित यो विद्यालयमा कुल ६ सय १ जना विद्यार्थी अध्ययनरत छन्। कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा पर्याप्त कक्षाकोठा र डेस्क–बेन्च नहुँदा खुला चौर तथा रुखमुनि बोरा ओछ्याएर कक्षा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक रवीन्द्र यादवले बताए।
‘स्टोर र प्रशासन बाहेक जम्मा ४ वटा कोठा छन्’, उनले भने, ‘विद्यार्थीको चाप बढेपछि रुखमुनि कक्षा सञ्चालन गर्न थालेका छौं।’ वर्षाको समयमा १ देखि ४ सम्मका विद्यार्थीलाई एउटै कोठामा कोचेर कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए।
विद्यार्थी भर्ना अभियान मार्फत ३ सय २० जना बालबालिका थपिएपछि कोठा र फर्निचरको अभावले अझै पिरोलेको प्रधानाध्यापक यादवले बताए।
विद्यालयमा कक्षाकोठा र फर्निचर मात्र होइन, विद्यार्थी संख्याको अनुपातमा शिक्षकको पनि अभाव छ।
‘हामीलाई कमसेकम १५ जना शिक्षकको आवश्यकता छ, तर ७ जनाले काम चलाइरहेका छौं’, प्रअ यादवले भने।
जिल्ला शिक्षा कार्यालयमा शिक्षक र कर्मचारी अभावको विषयमा पटकपटक जानकारी गराउँदा पनि समाधानको उपाय नखोजिएको उनले गुनासो गरे।
‘अहिले गाउँपालिकालाई पनि आग्रह गरेका छौं’, उनले भने, ‘आश्वासन पाए पनि काम भएको छैन।’
सरकार तथा सम्बन्धित निकायले बालबालिकाको समस्यालाई गम्भीरतापूर्वक लिन नसक्दा यो अवस्था आएको अभिभावक श्याम यादवले बताए।
गाउँपालिकाका अध्यक्ष प्रमानन्द यादवले विद्यार्थीको पठनपाठनका लागि उचित वातावरण तयार गर्न गाउँपालिका गम्भीर रहेको बताउँदै आगामी बजेटमा विद्यालयको सबै समस्या समाधान गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।