काबुल- अफगानिस्तान सरकारले घोषणा गरेको युद्धविरामको समय थपे पनि तालिबानले भने अस्वीकार गरेको छ।
इद पर्वका लागि सरकारले तालिबानसँग तीन दिनका लागि घोषणा गरेको युद्धविराम सकिँदै गर्दा अफगानिस्तानका राष्ट्रपति असरफ घानीले टेलिभिजन सम्बोधनमार्फत आइतबारदेखि थप १० दिन युद्धविरामको समय लम्ब्याएका थिए।
तर, तालिबानले राष्ट्रपतिको घोषणालाई बेवास्ता गर्दै युद्ध फेरि सुरु गर्ने जनाएको छ।
तालिबानको आधिकारिक वेबसाइटमा राखिएको प्रेस विज्ञप्तिमा युद्धविराम थपिए पनि आफूहरुलाई स्वीकार नभएको उल्लेख गरिएको छ। उसले शान्तिवार्ताका लागि आफ्नो पूर्वसर्त दोहोर्याउँदै विदेशी सेनाहरुले अफगानिस्तान छाड्नुपर्ने र आफूले अमेरिकासँग मात्र वार्ता गर्ने बताएको छ।
तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले अल जजिरासँग भनेका छन्, 'हाम्रा लडाकुहरु देशभर विदेशी आक्रमणकारी र तिनका आन्तरिक कठपुतलीहरुको विरुद्धमा फेरि परिचालन भइसकेका छन्।'
अफगान अधिकारीहरुका अनुसार तालिबानले इदका लागि गरेको यो दुर्लभ युद्धविराम हो। यसअघि उनीहरुले यस पर्वमा कहिल्यै युद्धविराम गरेका थिएनन्।
यसैबीच, अफगान सरकारले युद्धविरामको म्याद थपेकोमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गरेका छन्। साथै, उनले तालिबानलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका छन्।
राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोमा लाग्न महासचिव गुथ्रेसले दुवै पक्षलाई आग्रह समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।