काठमडौं– मकवानपुरमा एसपी लोकेन्द्र श्रेष्ठलाई पठाउने निर्णय प्रहरी महानिरीक्षक सच्याएका छन्। आइतबार उनलाई हटाइएको छ। मकवानपुरमा एसपी बुद्धि गुरुङलाई पठाइएको छ।
विवादास्पद छवी भएका एसपी श्रेष्ठलाई मकवानपुरमा सरुवा गरिएकोमा आइजिपीको आलोचना भएको थियो। सरुवा भएलगत्तै श्रेष्ठले अपराधीलाई इन्कान्टर गर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।
त्यस्तै पूर्वी र पश्चिम नवलपरासीका एसपी पनि फेरिएका छन्। पूर्वी नवलपरासीमा कार्यरत दीपेन्द्र जिसीलाई हटाएर रमेश थापालाई पठाइएको छ। त्यस्तै पश्चिम नवलपरासीमा राजेन्द्र भट्टलाई यसअघि काज सरुवा गरिएकोमा उनको दरबन्दी नै त्यहाँ कायम गरिएको छ।
मकवानपुर, चितवन, कास्की लगायत जिल्लामा विवादास्पद पृष्ठभुमी भएका एसपीलाई सरुवा गरिएकोमा सरुवा विवादमा परेको थियो। मकवानपुरका एसपी फेरिए पनि अन्य जिल्लामा भने हेरफेर गरिएको छैन।
प्रहरी मुख्यालयले बुधबार ५० जना डिएसपीको पनि सरुवा तथा ५५ जनाको पदस्थापन गरेको थियो। त्यस्तै गरी २८ डिएसपीको पदस्थापन तथा ११ सय १ सइको सरुवा गरिएको थियो।
अमेरिका जानुअघि आइजिपी खनालले ठूलो संख्यामा सरुवा गरेका हुन्। खनाल राष्ट्र संघले आयोजना गर्न लागेको विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन आइतबार नै अमेरिका प्रस्थान गरिसकेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।