समूह 'जी'
ट्युनिसिया भर्सेस इंग्ल्यान्ड
समय– असार ४ सोमबार, राति ११:४५
मस्को- इंग्ल्यान्डले गत विश्वकपमा एक खेल पनि जित्न सकेन। उरुग्वे र इटालीसँग पराजित भएको इंग्ल्यान्डले कोस्टारिकासँग बराबरी खेलेको थियो। सन् २०१० मा स्लोभिनियालाई १–० ले पराजित गर्नु इंग्ल्यान्डले विश्वकपमा हात पारेको पछिल्लो जित हो। ८ वर्षअघि जित हात पार्दाका कुनै पनि खेलाडी अहिले राष्ट्रिय टिममा छैनन्।
पहिलो खेलमा ट्युनिसियासँग भिड्दा युवा खेलाडीले भरिएको इंग्ल्यान्ड ठोस सुरुवात गर्न चाहन्छ। गत संस्करणको विश्वकप खेलेका गारी चाहिल, फिल जोन्स, जोर्डन हेन्डर्सन, रहिम स्टर्लिङ र ड्यानी वेलब्याक मात्र टिममा छन्। अन्य सबै खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन्।
पछिल्लो चार खेलमा इंग्ल्यान्डले जित हात पार्न सकेको छैन। त्यसैले पाँचौं खेलमा ट्युनिसिया तगारो नबन्ला भन्न सकिन्न।
उत्तर अफ्रिकी टिम ट्युनिसियाको प्रतियोगितामा आफ्नै महत्वाकांक्षा छ। उसले जितका लागि तयारी गरेको टिम विश्लेषकले दाबी गरेका छन्। पछिल्ला मैत्रीपूर्ण खेलमा उसले राम्रो रणनीति बनाएको थियो। २०१८ को तयारीका लागि उसले स्पेन र पोर्चुगलसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसले गर्दा ट्युनिसियाको आत्मविश्वास बढेको छ। पोर्चुगलसँग बराबरी खेलेको ट्युनिसियाले स्पेनसँगको खेलमा अन्तिम मिनेटमा गोल खाएको थियो। वहवी खार्जी र अली मालोउल फिट हुनु ट्युनिसियाका लागि सुखद खबर हो। यस्तै, सकारात्मक सोच र टिमको तालमेलका कारण ट्युनिसिया अझ बलियो देखिएको छ।
यता इंग्ल्यान्डको एउटै लक्ष्य रसियामा राम्रो सुरुवात गर्ने हो। अघिल्लो विश्वकपमा समूह चरणमा २ खेलमा पराजित भएको पीडा बिर्सन पनि इंग्ल्यान्डले रसियामा राम्रो खेल्न चाहन्छ। प्रशिक्षक गारेथ साउथगेटले जितको आधार ५० प्रतिशत क्षमता र ५० प्रतिशत आत्मबल भएको बताएका छन्। उनले इंग्लिस खेलाडीलाई सकारात्मक सोच राख्न आग्रह गरिरहेका छन्।
यसअघि इंग्ल्यान्ड र ट्युनिसियाबीच सन् १९९८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो। खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २–० गोलले हराएको थियो।
सम्भावित टिम-
ट्युनिसिया
मोउज हासेन, यासिन मेरिएह, स्याम बेन युसेफ, ड्यालन ब्रोन, अली मालोउल, इलएज स्काखिरी, एनिस बद्री, फर्जानी सासी, फख्नेडिन बेन युसेफ, वहवी खार्जी, नइम स्लिटी।
इंग्ल्यान्ड
जोर्डन पिकफोर्ड, केल वाकलर, जोन स्टोन्स, ह्यारी माग्युर, केइरन ट्रिपेइर, डेल अली, जोर्डन हेन्डरसन, जिसे लिङगार्ड, एस्ले योङ, रहिम स्टर्लिङ, ह्यारी केन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।