काठमाडौं- राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले आज पदबहाली गरेका छन्। रासस केन्द्रीय कार्यालयमा स्वागतपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले विश्वसनीय, आधिकारिक र पठनीय समाचार प्रदान गर्ने समाचार समिति बनाउन आफ्नो अनुभव र क्षमताको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
'रासस मुलुकको इज्जत हो, यसलाई देशको प्रतिष्ठित संस्थाका रुपमा विकास गर्दै गुणस्तरीय समाचार उत्पादनको केन्द्र बनाउनुपर्छ,' उनले भने, 'सुन्दर रासस निर्माणमा मेरो भूमिका हुनेछ, तपाईंहरुको साथ चाहिन्छ।'
अध्यक्ष अधिकारीले ‘अल्छी पत्रकारिता’ क्षम्य नहुने बताउँदै राससलाई नयाँ उचाइमा पुर्याउन आवश्यकताको पहिचान गरी अन्तर्राष्ट्रियस्तरको समाचार समितिको सिकाइका आधारमा अगाडि बढाउन लागिपर्ने प्रतिबद्धता जनाए। आफू परिणामुखी र गुणस्तरीय काममा विश्वास गर्ने बताउँदै उनले भने, 'लोकतन्त्रमा तपाईंहरुको आस्था जहाँ पनि हुन सक्छ तर गुणस्तरीय र परिणाममुखी काममा सम्झौता हुँदैन।'
पदबहालीका क्रममा राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, सञ्चालक समितिका सदस्य एकराज पाठक र डिल्ली भट्टराई, प्रधानसम्पादक राजु शाक्य, प्रशासन प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए।
नवनियुक्त अध्यक्ष अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गरेका छन्। पत्रकारिता र साहित्यमा उनको विशेष दखल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।