जलालावाद- अफगानिस्तान सरकारले तालिवानसँगको युद्धविरामको समय थप गरेको छ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शनिबार टेलिभिजन सम्वोधनमार्फत् थप तीन दिन युद्धविरामको समय बढाएको घोषणा गरेका हुन्।
सम्बोधनमार्फत राष्ट्रपति घानीले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह गरेका थिए। आइतबार राति अहिलेको युद्ध बिरामको म्याद सकिने भएकाले उनले तीन दिन म्याद थप गरेका हुन्।
युद्धविरामका क्रममा पनि तालिवानबाट आत्मघाती हमला भने जारी नै छ। शनिबार यस्तै आक्रमणमा परी कम्तिमा २६ जनाको मृत्यु भएको थियो।
मुस्लिम समुदायको सबैभन्दा ठूलो इद पर्व मनाउनका लागि सरकारले युद्धविराम घोषणा गरेको हो।
राष्ट्रपति घानीले गरेको आग्रह र सरकारले युद्धविरामको अवधि थपेको बारे तलिवान लडाकुका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।
सम्बोधनका क्रममा राष्ट्रपति घनीले भने, 'म सुरक्षाकर्मीलाई यो निर्देशन दिन्छु कि, तपाईंहरु रक्षात्मक अवस्थामा मात्रै रहनु होला।'
इदको दोस्रो दिन राष्ट्रपति घानीको यो प्रतिक्रिया आएको हो। अहिले रमजान मनाउने मुस्लिम समुदायको उपवासको महिना चलिरहेको छ।
राष्ट्रसंघले गर्यो युद्धविरामको स्वागत
यसैबीच, अफगानिस्तान सरकारले एकतर्फी रुपमा युद्ध विरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गरेका छन्।
महासचिवका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा अफगान नागरिकको शान्ति सुरक्षाका लागि तालिवानका तर्फबाट पनि युद्धविरामको घोषणा गर्न माग गरिएको छ।
राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोतर्फ लाग्न उनले दुवै पक्षलाई आग्रह गरेका छन्।
इद पर्व मनाइरहेका बेला पूर्वी अफगानिस्तानको नान्गारहार प्रान्तमा शनिबार भएको आक्रमणप्रति पनि राष्ट्रसंघीय प्रमुख गुथ्रेसले निन्दा गरेका छन्। सो आक्रमणमा परी २६ जनाको ज्यान गएको थियो। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।