पोखरा– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनमा आन्तरिक संक्रमण चलिरहेको बताएका छन्।
पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा गरेको पत्रकार भेटघाटमा मन्त्री पण्डितले असार मसान्तसम्म सबै प्रशासनिक संक्रमण अन्त्य हुने बताए।
‘स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृत खटाइसकिएको छ’, उनले भने, ‘काममा नजाने कर्मचारीलाई कारबाही हुन्छ।’
बाँकी रिक्त रहेका ठाउँमा पनि व्यवस्था हुने उनले बताए। उनले भने, ‘छिटै प्रदेश लोकसेवा आयोग गठन गरेर त्यसैमार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन गर्छौं।’
नेपाल सरकारले कर्मचारीलाई २४ घन्टामा सुनसुकै बेला जहाँ पनि खटाउन सक्ने समेत उनले बताए।
मन्त्री पण्डितले उनले जागिर खाएर पनि पढ्ने र काम नगर्नेमाथि निगरानी भइरहेको बताए। सरकारी तलब पनि खाइरहने र बढुवाका लागि पढिरहने बानी नराम्रो भएको उनको भनाइ छ।
‘जनताको काम नगरी माथि जाने काम राम्रो होइन’, उनले भने।
अवकासको २ वर्षसम्म कर्मचारीले आइएनजिओमा काम गर्न नपाउने
सरकारी कर्मचारीले अवकास भएको २ वर्षसम्म कुनै एनजिओ, आइएनजिओमा काम गर्न नपाउने मन्त्री पण्डितले बताएका छन्।
‘राष्ट्रसेवक कर्मचारी अवकास पाउनेबित्तिकै एनजिओ र आइएनजिओमा काम गर्दा राष्ट्रको सूचनाको दुरुपयोग हुन्छ’, उनले भने।
माथिल्लो पदका कर्मचारी सरकारी सूचनासँग अपडेट हुने भएकाले सूचनाहरु आइएनजिओहरुले प्रयोग गर्ने खतरा हुने उनले बताए।
‘त्यसका लागि राष्ट्रसेवक कर्मचारीलाई अवकासपछि पनि देशमै काम गर्नेगरी व्यवस्था मिलाउछौं,’ उनले भने।
मन्त्री पण्डितले पदमा रहेसम्म उत्साहित भएर काम गर्न राष्ट्रसेवकलाई सुझाव समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।