काठमाडौं– २०१८ फिफा विश्वकप सुरु भइसकेको छ। बालबालिकादेखि युवा अनि बूढाबूढीलाई पनि विश्वकपको माहोलले छोएको छ। नेपाली कलाकार्मीहरु पनि यसबाट टाढा छैनन्। कतिपय कलाकार आफ्नो रोजाइको टिमको सपोर्टमा उनीहरुकै जर्सी लगाएर सामाजिक सञ्जालमा तस्बिर सेयर गर्न व्यस्त छन् भने कतिले टिमको लोगोसहितको प्रोफाइल पिक्चर नै बनाएका छन्।
तर चाखलाग्दो विषय चाहिँ नेपालमै यस्ता कलाकर्मीहरु पनि भेटिए, जसलाई विश्वकपबारे चासो नै छैन। न टिमका खेलाडीको नाम थाहा छ न त ती देशको झन्डा। यसैले पनि उनीहरु यसपालि तटस्थ बसेका छन्।
खगेन्द्र लामिछाने
लेखक तथा अभिनेता खगेन्द्र लामिछाने विश्वकपबारे अनभिज्ञ रहेछन्। उनले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘मलाई त केही थाहा छैन, हिजो कि कहिले पो थाहा भयो वर्ल्डकप सुरु हुँदै रहेछ।’
केही रोमान्टिक हुँदै उनले थपे, ‘खासमा म खेलप्रेमी नै होइन।’
केही समयअघि खगेन्द्रले खेलमा आधारित फिल्म 'डन्डीबियो'को लेखन तथा अभिनय गरेका थिए।
डन्डीबियो खेलमा आधारित फिल्म बनाउने तपाईंलाई फुटबलमा चाहिँ किन चासो भएन? भन्ने प्रश्नमा उनले भने, 'त्यो चाहिँ टिमवर्क थियो अनि राष्ट्रिय खेलको प्रसंग पनि जोडिएकाले।’
सौगात मल्ल
अचम्म त यो छ कि अहिलेसम्म सौगातले पूरा खेल कहिलै हेरेका छैनन। भन्छन्, ‘साथीहरुले हेरौं भने भने हेर्छु तर खेलकै लागि समय छुट्याएर मैले हेरेको छैन र हेर्दिनँ पनि होला।’ विश्वकपको टिम र कुनै खेलाडीको बारेमा पनि चासो छैन।
यस पटक पनि खेल हेर्ने सुरमा छैनन् उनी। ‘कोही साथीले उक्सायो भने केहीबेर हेरौंला नत्र खास रुचि छैन,' उनले भने।
शिल्पा पोखरेल
अभिनेत्री शिल्पा पोख्रेल पनि वर्ल्डकप फुटबलबारे जानकार छैनन्। केही दिनअघि मैतीदेवीस्थित कान्तिपुर फिल्म एकाडेमीमा भेटिएकी शिल्पासँग कुराकानी गर्न आग्रह गर्दा उनले यस विषयमा आफूलाई केही थाहा नभएकाले कुरा गर्नै मानिनन्।
बुद्धि तामाङ
कलाकार बुद्धि तामाङलाई पनि यसपालिको वर्ल्डकपले छोएन। फिल्मको प्रमोसनमा व्यस्त उनलाई जिज्ञासा राख्दा फुटबलमा चासो नभएको बताए। उनले यसपालि पनि विश्वकप हेर्ने कुनै योजना बनाएका छैनन्।
स्वस्तिमा खड्का
स्वस्तिमा खड्काले पनि वर्ल्डकपका विषयमा कुरा गर्न खासै रुचि देखाइनन्। श्रीमान् निश्चल बस्नेत ब्राजिलका फ्यान भए पनि आफू वर्ल्डकपबाट टाढै रहेको उनले बताइन्।
मलिना जोशी
अभिनेत्री मलिना जोशी पनि वर्ल्डकपबारे जानकार छैनन्। आफ्नी दिदी ब्राजिलको फ्यान भएकाले कहिलेकाहीँ खेल हेर्ने गरे पनि आफूलाई फुटबलमा कुनै रुचि नभएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।