काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को स्थायी समितिको पहिलो बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमा शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन्।
सार्वजनिक बिदाको दिन प्रधानमन्त्री निवासमा पार्टीको बैठक बस्न लागेको हो।
बैठकका लागि ४ वटा एजेण्डा तय भएको (ने क पा)का नेता अग्नी सापकोटाले बताए। बैठक दिउँसो ३ बजे बस्ने कार्यक्रम तय भएको छ। स्थायी समितिको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने छन्।
त्यस्तै महासचिव विष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी समितिको बैठक पेश गर्नेछन्। बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना छ।
नियमावलीको मस्यौदा स्थायी समिति सदस्यहरुलाई दिई सकिएको छ। उनीहरुलाई आवश्यक सुझावसहित बैठकमा उपस्थित हुन भनिएको छ।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ। (ने क पा) को ४५ सदस्यीय स्थायी समिति गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो।
स्थायी समिति बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।