भैरहवा- स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नेपाल-भारत सीमा नाका रुपन्देहीको बेलहियाका केही ट्राभल एजेन्सीले पर्यटकहरुलाई ठगी गर्ने गरेको खुलेको छ। बेलहियामा रहेका केही ट्राभल एजेन्सीले दर्ताबिनै ट्राभल सम्बन्धी काम गर्दै पर्यटकलाई ठग्ने गरेको पाइएको हो।
गैरकानुनी रुपमा काम गर्दै पर्यटकलाई ठग्ने गरेको गुनासो बढेपछि जिल्ला अनुगमन समितिले ट्राभल एजेन्सीहरुको अनुगमन गरेको छ। अगुगमनका क्रममा बेलहियामा रहेका विनचेष्टर ट्राभल एन्ड टुर्स प्रालि, महाराजा ट्राभल्स एन्ड ट्रेकर्स र लिंक एब्रोड टुर्स एन्ड ट्राभल्समा अनुगमन समितिले ताला लगाएको छ।
आधिकारिक निकायमा दर्ता नगरी तथा अन्य सहरमा दर्ता गराई गैरकानुनी रुपमा चलेका ३ वटा ट्राभल एजेन्सीमा अनुगमन समितिले शिल गरेको हो। वाणिज्य कार्यालय भैरहवाको अगुवाइमा पर्यटन कार्यालय भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नाटा, पर्यटक प्रहरीको संयुक्त टोलीले अनुगमन गरेको थियो।
पर्यटकलाई ठगी गरेका, दर्ताबिना नै सञ्चालन गरेको एवं पर्यटकहरुलाई अलमलमा पारी नेपाली पर्यटन क्षेत्रलाई बदनाम गरेको उजुरी बढ्दै गएपछि सो क्षेत्रमा अनुगमन गरिएको वाणिज्य कार्यालय भैरहवाका प्रमुख तथा अनुगमन समितिका संयोजक बेदप्रकाश उपाध्यायले बताए। स्थलमार्ग हुदै सबैभन्दा पर्यटक भित्रिने क्षेत्रबाट नै बिचौलियाहरुले पर्यटकहरुलाई गलत सूचना दिई अलपत्र पार्ने तथा ठग्ने गरेको पाइएपछि कारबाही गर्न बाध्य भएको उनले बताए।
नेपाल–भारतको सीमा बेलहिया मुलुककै सबैभन्दा बढी पर्यटक भित्रयाउने नाकाको रुपमा चिनिन्छ। स्थल मार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरुको पहिलो रोजाइ नै बेलहिया नाका पर्ने गरेको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार, पोखरा, मुक्तिनाथ, मानसरोवर लगायतका स्थान जाने सहजताको लागि यो नाका पर्यटकको मुख्य रोजाइमा पर्ने गरेको छ।
बेलहिया क्षेत्रमा बिचौलियाहरुको प्रभाव बढ्दै गई पर्यटकहरु ठगिँदै गएको भनी ट्राभल्सहरुको संगठन नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एजेन्ट (नाटा) ले पनि सो निायन्त्रणको प्रयास थालेको हो। नाटाका महासचिव चन्द्रबहादुर थापाका अनुसार बेलहियामा ट्राभल व्यवसायको नाममा अवैध रुपमा खुला रुपमा दलाल एजेन्टहरुले पर्यटन क्षेत्रको बदनाम गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।