नेपालगन्ज- बाँकेको कोहलपुरबाट प्रहरीले मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने अखाद्य २१ टन खेसरी बरामद गरेको छ।
बर्दियाको भुरीगाउँबाट जनकपुरतर्फ ना ५ ख २१९६ नम्बरको ट्रकमा लैजाँदै गरेको अवस्थामा ३ जनासमेत पक्राउ परेका छन्। नेपाल प्रहरीको ५ नम्बर प्रदेश अन्तर्गत क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
आज बिहान ४ बजे खेसरी लोड गरिएको ट्रक नियन्त्रणमा लिइएको र ३ जना पक्राउ परेको ब्युरोका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरीले बताए। पक्राउ परेकाहरु बर्दिया भुरी गाउँका व्यापारी अब्दुल रहमान, चालक टेबबहादुर थापा र सहचालक देबबहादुर ओलीलाई क्षेत्रीय खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालयमा बुझाइँदैछ।
नेपाल सरकार कृषि मन्त्रालयले २०४९ पुस १३ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेरी खेसरीमा हुने टक्सिकले मानिस तथा पशुको स्वास्थ्यमा हानि गर्ने उल्लेख गरी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको थियो।
सरकारले खेसरीको उत्पादन, विक्री वितरण र ओसारपसारमा रोक लगाएका कारण व्यापारीहरुले गहुँको बिल देखाएर खेसरी ओसारपसार गर्ने गरेका छन्।
प्रतिकेजी करिब २० रुपैयाँ पर्ने खेसरी दाल तथा बेसन बनाउने काममा प्रयोग हुन्छ। यसलाई प्रतिकेजी एक सय रुपैयाँ पर्ने चनामा मिसावट गरेर व्यापारीहरले बिक्री गर्ने गरेका छन्।
खाद्य ऐनको दफा ५ (३) बमोजिम खेसरी जस्ता खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना तथा १ वर्ष देखि २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
क्षेत्रीय ब्युरोले गत बैसाख १३ गते पनि २५ टन खेसरी लोड गरिएको ट्रकसहित ३ जनालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।