बट्टार– नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा थ्रीस्टार क्लबले मदन भण्डारी स्पोस्ट एकेडेमीलाई ३-२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका लागि १२ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै अग्रता दिलाए। अजय मार्टीनले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० गोलले पछाडी परेको मदन भण्डारीले उत्कृष्ट खेल खेल्यो। सरजन राईले ७७ औ मिनेटमा गोल गरे । उनले गोल गरेको चार मिनेट नबित्दै थ्रीस्टारका अनन्त तामाङले व्यत्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता बढाए।
मदन भण्डारीको लागि अतिरित्त समयको ३ मिनेटमा अफ्रिकन खेलाडी माफेल एलोनले पाएको पेनाल्टीको सदुपयोग गर्दै गोल गरे तर त्यो जितको लागि पर्याप्त भएन । खेल थ्रीस्टार ३ —२ गोल अन्तरले जित्यो।
थ्रीस्टारले सेमिफाइनलमा अब घरेलु टोली नुवाकोटसँग बुधबार खेल्नेछ । खेलको म्यान अफ दी म्याच दुई गोल गरेका थ्रीस्टारका अनन्त तामाङ घोषित भए। उनलाई शाकुरा नेपालले १० हजार रुपैयाँ प्रदान गरेको छ। प्रतियोगितामा मंगलबार नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।