लहान– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक न्याय र समृद्धिका लागि दलितलाई आरक्षण आवश्यक रहेको बताएका छन्।
दुई दिनेदेखि सिराहाको लहानमा जारी प्रदेशस्तरीय दलितसभालाई सम्बोधन गर्दै राउतले भने, ‘सामाजिक न्यायबिना विकास र समृद्धि असम्भव छ। त्यसैगरी, दलित समुदायको आरक्षणबिना सामाजिक न्याय र समृद्धि पनि असम्भव छ।’
दलित समुदायलाई राज्यको हरेक तहमा आरक्षण दिए मात्र सामाजिक न्याय र विकास सम्भव हुने उनको तर्क छ।
‘सदिऔंदेखि विभेद खेप्दै आएका दलित समुदायलाई समान हिस्सेदारी नभएसम्म देशमा समृद्धि असम्भव छ’, उनले भने।
मुख्यमन्त्री राउतले अधिकारका लागि एकजुट हुन दलित समुदायलाई सुझाव दिएका छन्।
शनिबार आयोजित भेला समापन समारोहमा सहभागीहरुबाट आएको सुझावलाई समेटेर लहान घोषणापत्र तयार गरी मुख्यमन्त्रीलाई बुझाइएको छ।
दलितसभामा राष्ट्रियसभा सदस्यसहित प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९ जना दलित सांसद, प्रदेशभित्रका स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधि र दलित राजनीतिक नेता/कार्यकर्ता तथा अधिकारकर्मी गरी १ सय २० जनाको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।