काठमाडौं– नेपालबाट रोजगारीका लागि भारत जाने कामदारलाई श्रम स्वीकृतिको दायराभित्र ल्याउन सरकारलाई सरोकारवालाहरुले सुझाब दिएका छन्। वैदेशिक रोजगार क्षेत्र सुधार सुझाव कार्यदलले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रमका वक्ताले भारतमा ठूलो संख्यामा नेपाली कामदार जाने भएकाले ती कामदारलाई श्रमको दायराभित्र ल्याउनुपर्नेमा जोड दिए।
नेपाली युवाका लागि भारत पनि रोजगारीको राम्रो गन्तव्य देश भएकाले त्यहाँ जाने कामदारको रेमिट्यान्सलाई बैकिङ च्यानलमा भित्र्याउन सरकारीस्तरबाट पहल गर्नुपर्ने उनीहरुले बताए।
वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पूर्णचन्द्र भटराईले रोजगारमा जाने श्रमिकका समस्या सँगै तीनका परिवारले भोग्दै आएका समस्या समाधानका लागि राज्यले विषेश कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
सरकार आफैंले बनाएका कतिपय नीति ऐनमा अल्मलिँदा धेरै कामदारका समस्या ओझलमा पर्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका पूर्वकार्यकारी निर्देशक रघुराज काफ्लेले जनाए।
वैदेशिक रोजगारमा धेरै अदक्ष कामदार गइरहेकाले रोजगारदाता मुलुकमा पुगेपछि समस्या र दुःख पाइरहेको जनाउँदै उनले तत्काल सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए।
कामदार पठाउने म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐनभन्दा बाहिर गएर काम गरेमा तत्काल खारेज गर्नेसम्मको कारबाही गर्नुपर्ने कार्यक्रममा जोड दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।