काठमाडौं- सरकारले चीन सरकारको सहयोगमा ल्याउन लागेको अक्सिजन सिलिण्डर नेपाल एयरलाइन्सको जहाजमार्फत् ल्याउने तयारी भएको छ। उक्त सिलिण्डर ल्याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल एयरलाइन्ससँग दररेट समेत मागिसकेको छ।
दररेट माग्दै बेइजिङबाट २ हजार सिलिण्डर ल्याउन कसरी सकिन्छ भने विषयमा समेत मन्त्रालयले निगमसँग विवरण मागेका छ। निगम स्रोतका अनुसार २ हजार सिलिण्डर ५ टिप (प्रतिटिप ४ सय सिलिण्डर) ल्याउने सकिनेछ।
निगमले सिलिण्डर ल्याउन वाइडबडी जहाज प्रयोग हुने र यसको चार्टर दर प्रतिघण्टा १५ हजार ५ सय २० डलर लाग्ने जनाएको छ। यसमा सरकारलाई भने ५ प्रतिशतसम्म छुट दिने सकिने निगमको भनाइ छ।
निगमको जहाजलाई बेजिङ जान-आउन ११ घण्टा ३५ मिनेट लाग्छ। सोही अनुसार निगमले एक टिप ग्यास सिलिण्डर ल्याउँदा १ लाख ७६ हजार १ सय ५२ डलर आम्दानी गर्छ। त्यसमा ५ प्रतिशत छुट दिँदा १ लाख ६७ हजार ३ सय ४४ डलर आम्दानी गर्छ। ५ टिप बोक्दा निमगले ८ लाख ३६ हजार ७ सय २२ डलर आम्दानी गर्छ। जुन आम्दानी अन्तर्राष्ट्रिय उडान बन्द भएको समयम कर्मचारीलाई तलब खुवाउन सहयोग पुग्नेछ।
‘अहिले सिलिण्डर ल्याउन कसरी सकिन्छ भने विषयमा छलफल शुरु भएको छ,’ निगम स्रोतले भन्यो, ‘तर, कहिले भन्ने समय तय भएको छैन।’ तर, निगमले अघिल्लो वर्ष स्वास्थ्य सामाग्री बोकेको रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भुक्तानी पाएको छैन।
ओम्नीसँग खरिद गरेको सामान निगमको जहाजबाट ल्याएपनि झन्डै २ करोड रूपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म भुक्तानी गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।