काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ। दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ।
फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन्। बहस सकिएलगत्तै सीसीटीभी फुटेज देखाउन आदेश भएको थियो।
सन्दीप र गौशाला २६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज न्यायाधीसद्वयले हेर्न चाहेका हुन्। यसअघि जिल्ला अदालतका न्यायाधीशले पनि बहस सकिएपछि फैसलाभन्दा ठीक अघि सीसीटीभी फुटेज हेरेका थिए।
आज सबैभन्दा पछाडि सन्दीप लामिछानेको तर्फबाट सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरेका थिए।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजोदेखि मुद्दाको सुनुवाइ भइरहेको छ। हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। आज ११ बाट बहस सुरू भयो। दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो। त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।