काठमाडौं– सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
२२ सदस्यीय मन्त्रिपरिषद्मा १८ मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएकोमा ६ मन्त्रीले मात्रै सेयरमा लगानी गरेको देखिएको छ। यद्यपि मन्त्रीका श्रीमतीहरुको भने सेयर लगानीमा मोह रहेको पाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा कुनै सेयर नरहे पनि उनको श्रीमती राधिका शाक्यको २५ लाख रुपैयाँ बराबरको राष्ट्रिय बचतपत्र रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
रक्षामन्त्री ईश्वर पोखरेलको नाममा कुनै पनि संस्थाको सेयर छैन। तर, उनकी श्रीमती मीरा पोखरेलको नाममा तीन कम्पनीको सेयर छ। मीरासँग बरुण हाइड्रोपावर कम्पनीको १० हजार कित्ता, कृषि विकास बैंकको २ सय कित्ता र मोडर्न कन्या मल्टिपल कलेजको ५ हजार कित्ता सेयर रहेको मन्त्री पोखरेलले उल्लेख गरेका छन्।
गृहमन्त्री रामबहादुर थापा 'बादल' को नाममा कुनै सेयर नभए पनि उनकी श्रीमती नैनकला थापाको अपर तामाकोसी हाइड्रोपावरको १ सय ४६ कित्ता सेयर छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको नाममा कुनै सेयर नरहे पनि उनकी श्रीमती जुलीकुमारी महतोको नाममा विभिन्न कम्पनीको ५० लाख रुपैयाँ बराबरको सेयर छ।
श्रम रोजगार तथा समजिक सुरक्षामन्त्री गोकर्ण विष्टको नाममा कुनै सेयर छैन। तर, उनकी श्रीमती प्रलिमा श्रेष्ठको नाममा कृषि विकास बैंकको ४९ कित्ता र मेगा बैंकको २ सय ६५ कित्ता सेयर रहेको उल्लेख गरिएको छ।
यता अर्थमन्त्री डा युवराज खतिवडा र उनको श्रीमती कमला खतिवडा दुवैको नाममा सेयर छ। डा खतिवडाको नाममा सावल सहकारी संस्थाको ५ हजार कित्ता र कमलाको नाममा दुर्गा भवानी सहकारीको ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा लेखिएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र खानेपानी मन्त्री बिना मगरको नाममा सेयर नरहेको विवरणमा जनाइएको छ।
कुन मन्त्रीको सेयरमा कति लगानी?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।