बुटवल– सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइप्रति आर्कषण बढाउन तथा पोषणमा सुधार ल्याउन भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु भएको छ। नगरपालिकाले बाल विकास कक्षाका सबै बालबालिकाहरुलाई दिवा खाजा उपलब्ध गराउन सुरु गरेको हो।
नगरपालिकाले कक्षा ५ सम्मका सबै बालबालिकाहरुलाई घरबाट खाजा ल्याउन टिफिन बक्स समेत उपलब्ध गराएको छ। सामुदायिक विद्यालयमा आकर्षण बढाउँदै विद्यार्थीहरुको पोषणमा सुधार ल्याउने लक्ष्यका साथ दिवा खाजा कार्यक्रम सुरु गरिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए। नगरपालिकाले दिवा खाजा कार्यक्रम सुरु गर्दै नगरभित्रका ६ वटा विद्यालयहरुलाई टिफिन बक्स र खाजाका लागि आवश्यक नगद हस्तान्तरण गरेको छ। बाँकी विद्यालयहरुलाई क्रमशः टिफिन बक्स र नगद प्रदान गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले बताए। नगरप्रमुख घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले विद्यार्थीलाई टिफिन बक्स तथा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई चेक हस्तान्तरण समेत गरेका छन्।
अब नगरभित्रका सबै बाल विकास कक्षाका विद्यार्थीहरुलाई विद्यालयमै खाजाको व्यवस्था हुनेछ। उनीहरुको खाजाका लागि नगरपालिकाले दैनिक प्रति विद्यार्थी २५ रुपैंयाँका दरले विद्यालयलाई रकम उपलब्ध गराएको छ। यस्तै टिफिन बक्स पाउने सबै बालबालिकाका अभिभावकले अब आफ्ना छोराछोरीलाई विद्यालय जाँदा दिनहुँ खाजा पठाइदिनुपर्ने नियम नगरपालिकाले बनाएको छ। आर्थिक रुपमा खाजा ल्याउन नसक्ने अवस्थाका अत्यन्त विपन्न वर्गका बालबालिकाहरुलाई सम्बन्धित विद्यालय र वडा समितिको सिफारिसमा खाजा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।
‘बाल विकास कक्षाका सबै र आर्थिक रुपमा खाजा ल्याउन नसक्ने कक्षा ५ सम्मका बालबालिकाहरुलाई नगरपालिकाले खाजा उपलब्ध गराउने छ। सक्नेहरुले आ–आफ्ना बालबालिकाहरुलाई घरमैं तयार हुने खानेकुरा टिफिन बक्समा पठाइदिनुपर्नेछ।’, नगरप्रमुख घिमिरेले भने, ‘खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालय जान र अध्ययन गर्न प्रोत्साहन मिल्ने तथा जंकफुडको प्रयोगमा कमी आउने हामीहरुको विश्वास छ।’ प्रमुख घिमिरेले घरबाट ल्याएको खाजाले बालबालिकाको स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्ने बताउदै जंक फुडको प्रयोगलाई सकेसम्म निरुत्साहित पार्नुपर्नेमा जोड दिए।
नगरपालिकाले दिवा खाजा कार्यक्रम सुरु गर्दै नगरभित्रका ६ वटा विद्यालयहरु शान्ति नमूना, जनजागृति, सेमरी, नमूना महिला, कोटइमाई मिशुजु र कोटियामाई आधारभूत विद्यालयलाई टिफिन बक्स र नगद रुपैयाँ हस्तान्तरण गरेको हो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन दिवा खाजा कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै आगामी दिनमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अन्य कार्यक्रमहरु समेत सञ्चालन गरिने बताए।
तिलोत्तमा नगरपालिकामा ४३ वटा सामुदायिक विद्यालय छन्। सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण घटिरहँदा नगरपालिकाले दिवा खाजा कार्यक्रम अघि सारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।