काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई कुनै पनि विषयमा टिप्पणी गर्नुपर्ने भएमा सोझै नेतृत्वलाई भन्न आग्रह गरेका छन्।
संघीय संसद्मा रहेका नेकपाका सांसदहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै ओलीले जथाभावी ढंगले असन्तुष्टि पोख्दा समस्याको समाधान नहुने भन्दै त्यस्ता असन्तुष्टि पार्टी वा संसदीय दलको जिम्मेवार ठाउँमा राख्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले आफ्नो विज्ञता भएका विषयमा संसदमा कुरा राख्न सांसदहरुलाई निर्देशन समेत दिए। उनले भने, 'अध्ययन गर्ने बानी बसाउनुहोस्। नजानेका कुरा सिक्नुहोस्। तर्क र क्षमता बढाउनुहोस्। आवेशमा आएर नबोल्नुहोस्। जनमतको कदर गर्ने बानी बसाउनुहोस्।'
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सरकारले जनताको अपेक्षा अनुसार प्रगतिशील र 8वाद उन्मुख बजेट ल्याउने बताए। उनले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा सम्बोधन गरिने उल्लेख गरे। परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउँदा लक्ष्यमा पुग्न नसकिने बताउँदै त्यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नैपर्ने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले अहिले बहुमत प्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएको तर्क गरे।
प्रधानमन्त्री ओलीले भने, 'हामीसँग बहुमतप्राप्त सरकार छ। त्यसकारण जनताका अपेक्षा पनि धेरै छन्। ती अपेक्षा पूरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन्।'
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको दाबी गरे। उनले जनता आवास कार्यक्रमलाई नयाँ ढंगले सञ्चालन गरिने, हिमाली क्षेत्रमा छरिएका बस्तीलाई एकीकृत गर्ने र हिमाली क्षेत्रमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको अपेक्षालाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम आएको भन्दै जनताको पक्षमा केन्द्रित हुन सांसदहरुलाई आग्रह गरे। करिब दुई तिहाइ प्राप्त वर्तमान सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको बजेट तयार पार्ने र आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने स्पष्ट पारे।
उनले जनताको भावनालाई सम्बोधन गर्नेगरी प्रस्तुत हुन आग्रह गर्दै जनपक्षीय एजेण्डा स्थापित गर्ने दायित्वलाई समेत ख्याल गर्न सांसदहरुलाई निर्देशन दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।