काठमाडौं– चलचित्र पत्रकार संघको १९औँ स्थापना दिवसको अवसरमा ५ चलचित्र पत्रकारहरु सम्मानित तथा पुरस्कृत भएका छन्। संघले अग्रज चलचित्र पत्रकार ध्रुव लम्साल र दयाराम पाण्डेलाई ‘चलचित्र पत्रकार सम्मान २०७५’ बाट सम्मान गरेको छ भने लक्ष्मण सुवेदी र सन्ध्या थापालाई ‘चलचित्र पत्रकारिता पुरस्कार २०७४’ प्रदान गरेको छ। त्यसैगरी ‘चलचित्र प्रोत्साहन पुरस्कार २०७५’ अन्जान दाहाल (मनिस) ले पाएका छन्।
संघको १९औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुरस्कार प्रदान गरेका थिए। चलचित्र क्षेत्रको विकास नभई सिंगो राष्ट्रको विकास हुन नसक्ने उनले बताए।
राज्यमन्त्री बाँस्कोटाले चलचित्र पत्रकारको हकहितमा काम गर्न राज्य सधै तयार रहेकाले यस विधाको पत्रकारिता क्षेत्रमा पनि सरकारले गर्न सक्ने सहयोग गर्ने आश्वासन दिए।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष भरत शाक्य, पूर्वअध्यक्ष विदुर गिरी, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीप उदय लगायतको उपस्थिति थियो।
कार्यक्रममा कलाकारहरु हरिवंश आचार्य, करिश्मा मानन्धर, झरना थापा, रमेश उप्रेती, निर्मल शर्मा,केकी अधिकारी, सलोन बस्नेत लगायतका कलाकार पनि सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।