बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक महत्वका कार्यक्रम समयमा सञ्चालन गराउन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी गरेको छ।
तोकिएको समयमा सार्वजनिक कार्यक्रम सुरु नहुने गरेपछि नगरपालिकाले नगरभित्र सञ्चालन हुने सबै प्रकारका सार्वजनिक महत्वका कार्यक्रमलाई उपलब्धिमूलक, मितव्ययी, छिटो–छरितो र समयसापेक्ष बनाउन निर्देशिका जारी गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए।
नगरकार्यपालिकाको २२औं बैठकबाट पारित निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ।
निर्देशिकामा कार्यक्रम तोकिएको समयमै सुरु गर्नुपर्ने, वक्ताहरुले सम्बन्धित विषयमा बुँदागत रुपमा मन्तव्य राख्नुपर्ने, उद्घोषकले आफ्नो मन्तव्य नराखी कार्यक्रम मात्र सञ्चालन गर्नुपर्ने, एउटा वक्ताले गरेको कुरा अर्को वक्ताले दोहोर्याउन नहुने उल्लेख गरिएको छ। यस्तै, मञ्चमा अध्यक्ष, प्रमुख अतिथि र वक्ता अतिथिहरुलाई मात्र स्थान दिनुपर्ने, स्वागत तथा सम्मानका लागि स्थानीय स्तरमा उपलब्ध हुने फूलको माला तथा गुच्छाको मात्र प्रयोग गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ।
साधारणसभा, अधिवेशन लगायतका संस्थाको आन्तरिक विषयमा बढी केन्द्रित हुनुपर्ने, कार्यक्रमका उद्घाटन सत्रहरु बढीमा डेढ घन्टामा सक्नुपर्ने, विद्यालयहरुले अतिथिहरुको स्वागत–सत्कारका लागि विद्यार्थीलाई उभ्याउन नपाउने पनि निर्देशिकामा उल्लेख छ।
‘सार्वजनिक महत्वका सबै प्रकारका कार्यक्रम, बैठक, सभा, समारोह, उत्सवलाई समयमै सम्पन्न गरी अन्य कार्यमा प्रतिकूल प्रभाव पर्न नदिने व्यवस्था मिलाउन र बैठक तथा कार्यक्रम विषयवस्तुमा केन्द्रित भई छलफल तथा निर्णयमा पुग्न सक्ने व्यवस्था गर्न निर्देशिका जारी गर्नुपरेको हो’, नगरपालिकाले जनाएको छ।
निर्देशिकाको पालना नगरपालिका र यस अन्तर्गतका सम्पूर्ण कार्यालय, सरकारी, सामुदायिक, गैरसरकारी सबै निकाय, संघ–संस्था, क्लब, सहकारी, वन, शिक्षण संस्था, टोल विकास संस्था लगायतले गर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाको २२औं बैठकले नगरभित्र निर्माण हुने भवनहरुको नक्सा, खेल मैदान, विपद् व्यवस्थापन समिति गठन, सांस्कृतिक भवन निर्माण, रिङरोडको रुट, अटोजोन लगायतका अन्य विषयमा महत्वपूर्ण निर्णय गरेको कार्यपालिका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।