काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले आफ्नो पहिरनमाथि लेखिएको गसिपको प्रतीकात्मक रुपमा विरोध गरेकी छन्। उनले हिजाब पोशाक लगाएर आफूबारेको गसिफको जवाफ दिएकी छिन्। एक साप्ताहिक पत्रिकाले उनको ग्ल्यामर पहिरनमाथि 'उमेर पचपन, पहिरन बचपन' भनेर गसिप लेखेको थियो।
शनिबार करिश्माले फेसबुकमा मुस्लिम महिलाको पहिरन लगाएको तस्बिर सार्वजनिक गर्दै गसिपमाथि असन्तुष्टि पोखेकी छिन्। उनले आफ्नो पहिरनको बहाना बनाएर निजी स्वतन्त्रतामाथि हमला गरिएको भन्दै नारी जातिमाथि हुने पीत पत्रकारिताको सम्मान गर्दै सम्पूर्ण शरीर छोप्ने मुस्लिम पोशाक लगाएको उल्लेख गरेकी छिन्।
उनले लेखेकी छिन्:
म एउटा कलाकार हुँ। मेरो हरेक क्रियाकलाप ग्यामरसँग जोडिएर हेरिन्छ। साथै म एउटा सार्वजनिक व्यक्तित्व भएको नाताले 8मा पर्ने असरको बारेमा ध्यान पुर्यारउँदै आफ्ना निजी (खाने, बस्ने, लगाउने, बोल्ने आदि) क्रियाकलाप गर्नुपर्छ। तर, एक्काइसौं शताब्दीको दोस्रो दशकमा आइपुग्दा पनि स्वतन्त्र देशमा एउटा नागरिकले आफूले चाहेको खान, लगाउन र बोल्न नपाइने ?
चित्त नबुझेको कहाँनेर हो भने ..
ठीक छ, मैले लगाएको पहिरन गलत भयो होला त्यसबारे टिप्पणी गर्नुस् तर मेरो बोल्ने शैली, उमेर, मेरा रहर, मैले पूरा गर्न खोजेका इच्छा, हरेक कुराको हाँसो बनाएर, करिश्माको जात्रा भनेर लेखेर के पाउनुहुन्छ ती महानुभावहरुले? कोट र स्कर्ट म घरमा बस्दा लगाउनु?
मेरो पहिरनको बहाना बनाएर मेरो निजी स्वतन्त्रतामाथि हमला गर्ने!
करिश्माबारे के लेखिएको थियो?
करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन्। केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन्। १६१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ। उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको।
जथाभावी बोलेर स्थानीय चुनावका समयमा आफ्नै अल्पज्ञान प्रस्तुत गरेकी थिइन्, मंगलबार आफ्नै छोरीले डेब्यु गर्न लागेको फिल्मको कार्यक्रममा छोरीले भन्दा छोटो लुगा लगाएर अर्को जात्रा गरिन्। पति विनोद मानन्धरका साथ शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा छोरीलाई शुभकामना दिन पुगेकी करिश्माले यस्तो लुगा लगाएकी थिइन्, जहाँ उनलाई लुगा सम्हाल्नै धौधौ परेको थियो। उनले लगाएको लुगा तल छोप्दा माथि ह्वाङ्ग देखिन्थ्यो भने माथि छोप्दा तल ह्वाङ्ग।
करिश्माको फेसन ब्लन्डर यो पहिलो पटक भने होइन। यसअघि पनि करिश्मा बारम्बार वार्डरोब मालफंक्सनको सिकार बनेकी थिइन्। स्तनको माथिल्लो भागमा ट्याटु खोपाएकी करिश्माले एक पटक ट्याटु देखाउने चक्करमा स्तनको सम्पूर्ण भाग देखाएकी थिइन् भने सोही समयमा उनको रातो रङको पेन्टी पनि फोटोग्राफरको क्यामरामा कैद भएको थियो। एक पटक भने करिश्माले मालिस गराइरहेको फोटो सार्वजनिक गरेकी थिइन्, जहाँ उनको क्लिभेज स्पष्ट देखिएको थियो।
करिश्मा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य पनि हुन्। यो उमेरमा कक्षा १० मा पढिरहेकी करिश्मा धेरैका लागि प्रेरणाकी स्रोत पनि हुन्। तर पहिरनको मामलामा पनि १० कक्षे बालिका झैं व्यवहार गर्दा, उनलाई मौकामा उडाउन खोज्नेहरुको मनोबल पनि ह्वात्तै बढ्ने गरेको छ।
सार्वजनिक कार्यक्रममा जाँदा अभिनेत्रीले पहिरनमा ख्याल गर्नुपर्छ। अझ पत्रकारका सामु मञ्चमा बस्नु छ भने त झनै सतर्क हुनुपर्छ तर करिश्माको मंगलबारको कार्यक्रममा लगाएको पहिरन हेर्ने सबैले भन्थे, ‘उमेर लगभग पचपन, पहिरनमा भने बचपन !’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।