राजविराज– वर्षामा बाढीको कहर। हिउँदमा शीतलहर। हावाहुरीमा आगलागी। बालीनाली थन्क्याउने समयमा जंगली हात्तीको आतंक। सप्तरीवासीका लागि हरेक वर्ष दोहोरिइरने विपत्ति हुन् यी। एउटा समस्या समाधान नहुँदै अर्को समस्यासँग जुध्नु यहाँका स्थानीयहरुको बाध्यता हो, जो वर्षौंदेखि खेपिरहेका छन्।
हावाहुरी र आगलागीको पीडा भुल्न नपाउँदै सुरु हुन लागेको वर्षायामले यहाँका बासिन्दाको मनमा फेरि बाढीको त्राससँगै चिन्ता बढ्न थालेको छ। नदी नियन्त्रणको काम सुस्त रहेका कारणले पोहोर सालझैं यसपालि पनि बाढीको विपत्तिमा कसरी सुरक्षित रहने भन्ने चिन्ताले उनीहरुलाई पिरोल्न थालिसकेको छ।
गत साउन २६ गते सप्तरीको खाँडो खोलामा आएको बाढीमा परी राजविराज–१५, देउरी भरुवाका ६० वर्षीय डोमी यादवको ज्यान गयो। बाढी रोक्न बाँध बनाउने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको हो।
साउन २९ गते डाकनेश्वरी नगरपालिका–८ का ५८ वर्षीय नथुनीरामको पनि बाढीमै डुबेर मृत्यु भयो। डोमी र नथुनी मात्र होइन, बाढीमा डुबेर जिल्लाभरी ५ जनाले ज्यान गुमाए। खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरी लगायतका खोलामा आएको बाढीले २५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भए भने ७ सय ४२ घरमा आंशिक क्षति पुग्यो। बाढीवाट विस्थापित परिवार १ हजार ४ सय ८९ तथा डुबानमा परेको घर संख्या ३ हजार ६ सय ९० रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
खेतमा रोपेको धानसमेत बगाउँदा डेढ अर्बभन्दा बढी क्षति भएको समितिका संयोजक भागीरथ पाण्डेयले बताए। चुरे क्षेत्रबाट सप्तरी हुँदै बग्ने खाँडो, महुली लगायतका खहरे खोला यस जिल्लाका लागि समस्याका रुपमा रहेका छन्। यीमध्ये पनि सबैभन्दा बढी क्षति खाँडो खोलाबाट हुने गरेको छ।
गतवर्ष खाँडोले सकरपुरा, लौनियाँ, तिलाठी, रायपुर लगायतका दर्जनौँ स्थानमा खेतीयोग्य जमिन कटान गरेको थियो। कटानका कारण बाढी आउनुअगावै ‘खाँडो नदी नियन्त्रण आयोजना’मार्फत केही मात्रामा तटबन्ध निर्माणको काम त भएको थियो। तर, गुणस्तरहीन भएका कारण बाढी थेग्न नसकी ठूलो क्षति भएको बाढी पीडित जनताहरुको गुनासो छ।
बाढीले कटान गरेको क्षेत्रमा पूर्णरुपले मर्मत सम्भारका साथै नदी नियन्त्रणको काम समेत अझै अधुरो रहेका कारण आगामी वर्षायाम कसरी कटाउने भन्ने सप्तरीको नदी तटका बासिन्दालाई चिन्ता सुरु भएको हो।
आधा दर्जनभन्दा बढी खोलामा आउने बाढीले आसपासका क्षेत्रमा क्षति गर्ने भए पनि खाँडो बाहेकका अन्य नदीहरुमा नियन्त्रणको काम अहिले पनि सुरु हुन सकेको छैन। यसले सो आसपास बस्ने स्थानीयवासीको चिन्ता थपिएको छ। खाँडो खोलाको नियन्त्रणका लागि द्रुत गतिमा काम गर्नुपर्नेमा बजेटको अभावसँगै ठाउँठाउँमा स्थानीय बीचमै विवाद भएका कारण काम प्रभावित भएको राजविराजस्थित खाँडो नियन्त्रण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर विष्णुदेव यादवले बताए।
खाँडो नदीको बाढीले सबैभन्दा बढी प्रभावित दक्षिणी भेगस्थित तिलाठीमा नदी नियन्त्रणको काम रोकिएको छ। सो क्षेत्रमा स्थानीयले जग्गाको मुआब्जा माग्दै काम रोकेपछि त्यहाँ विनियोजन भएको ४ करोड बजेटबाट उत्तरतर्फ रायपुरमा नदी नियन्त्रणको काम जारी रहेको यादवले जानकारी दिए। खाँडो नियन्त्रणका लागि हालको बहाव भएको क्षेत्रबाटै काम अघि बढाउन थालेपछि स्थानीयले उक्त ठाउँ आफुहरुको नम्बरी जग्गा भएको भन्दै काम गर्न अवरोध सिर्जना गरेका थिए।
स्थानीयले कि त मुआब्जा दिनुपर्ने अन्यथा पुरानै बहावका आधारमा काम गर्नुपर्ने अडान लिएपछि गतवर्ष देखिनै काम रोकिएको हो। तिलाठीमा काम रोकिए पनि कटानको बढी जोखिम रहेका अन्य १ दर्जन जति ठाउँमा अविलम्व काम सुरु गर्नुपर्ने स्थानीयको माग छ।
कार्यालय प्रमुख यादव भने बजेट अभावका कारण माग र आवश्यकताअनुसार काम गर्न नसकिएको बताउँछन्। उनका अनुसार चालु आर्थिक वर्षमा आयोजनाका लागि ३४ करोड ६८ लाख २८ हजार रुपैयाँ बजेट उपलब्ध हुनुपर्ने थियो। तर, उपलब्ध भएको १५ करोडमध्ये ६ करोड रुपैयाँ मात्रै बाँकी रहेकाले बाँकी काम गर्न पनि समस्या भएको यादवको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।