काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैंकहरुले गाउँपालिकामा शाखा विस्तार गरेर आफ्नो वाचा पूरा गरेको बताएका छन्।
युकेएड सक्षमसँगको सहकार्यमा १४ वाणिज्य बैंकले तीन प्रदेशका गाउँपालिकामा ५७ वटा शाखा स्थापना गर्ने भएको सहकार्य कार्यक्रममा बोल्दै गर्भनर नेपालले यस्तो बताएका हुन्।
उनले भने, ‘केन्द्रीय बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत बैंकहरुलाई शाखा विस्तार गर्न प्रेरित गरेको थियो। यस किसिमका पहलले बैंकहरुले आफ्ना वाचा पूरा गरिरहेका छन् भन्ने पुष्टि गर्छ।’
देशभरका स्थानीय तहमा आफ्ना शाखाको उपस्थिति जनाएर आजको आवश्यकतालाई सम्बोधन गर्न बैंकिङ समुदायले पहल गरेको उनले बताए।
सक्षमले कर्णाली प्रदेश र प्रदेश ५ र ७ का गाउँपालिकाहरुमा शाखा स्थापना गर्न लागेको हो। नेपाल सरकारको मर्म अनुसार देशका सबै ७ सय ५३ स्थानीय तहमा वाणिज्य बैंकका शाखाहरु पुर्याेउन शाखा स्थापना गर्न लागेको सक्षमका टोली प्रमुख बलजित बोहराले बताए।
‘नयाँ स्थापना हुने शाखा मार्फत सक्षमको सहयोगले देशका सबैभन्दा दुर्गम स्थानीय तहमा पनि बैंकिङ सेवा उपस्थितिको सुरुवात हुनेछ’, उनले भने।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।