एजेन्सी (मुम्बई)– बलिउड अभिनेत्री सोनम कपुरको विवाह भएको हप्ता दिन नबित्दै विवाह नै विवादमा तानिएको छ।
गत मे ८ मा शिख परम्पराअनुसार सोनमले अर्बपति व्यापारी आनन्द आहुजासँग मुम्बईमा धुमधामका बिहे गरेकी थिइन्। उनी यतिबेला फ्रान्समा जारी कान्स फिल्म महोत्सवमा पुगेकी छन्। तर सोनाम र आहुजाको विवाहको विषय यतिबेला विवादमा मुछिएको छ। विवाहमा शिख धर्म विपरीत क्रियाकलाप भएको भन्दै एक समुदायले यस आपत्ति जनाएको हो।
सोनम र आनन्दले बिहेका क्रममा शिख रीतिरिवाजको उल्लंघन गरेको भन्दै उक्त समुदाय विरोधमा उत्रिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। समाचार अनुसार सोनाम र अहुजाको विवाहमा धर्मको पालना नगरिएको भन्दै शिख धर्मका गुरु शिरोमणिको समूहले विरोध जनाएको हो।
पूर्व धर्मगुरुहरुका अनुसार विवाहका समय आनन्द आहुजाले टाउकोमा बाँधेको पगरीबाट कल्की हटाएका थिएनन्। यो शिख रीतिरिवाज अनुसार ‘रहत मर्यादा’को उल्लंघन हो।
गुरु शिरोमणिले विवाहमा संलग्न वर्तमान व्यवस्थापकसँग यस विषयमा असन्तुष्टि जनाएसँगै सोनम र आहुजाको विवाह सांस्कृतिक विवादमा मुछिएको हो। तर यस विषयमा नवजोडीले कुनै प्रतिक्रिया जनाएको छैन।
शिख धर्मका अगुवाहरुले विवाहमा संलग्न मुख्य गुरुसहित पुजारीविरुद्ध कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।